वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरू पछिल्लो एक महिनादेखि अघोषित लोडसेडिङ र बिना सूचना हुने विद्युत् कटौतीका कारण मर्कामा परेका छन्। नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्तिमा आउने अस्थिरता र गुणस्तरीय आपूर्तिको अभावका कारण उद्योगहरूको उत्पादन प्रक्रियामा नकरात्मक असर परेको वीरगन्ज उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको छ।
संघका अध्यक्ष अनिल अग्रवालका अनुसार, नेपाल विद्युत् प्राधिकरणले ५–६ वर्ष अघि ‘लोडसेडिङमुक्त औद्योगिक क्षेत्र’ र ‘उज्यालो नेपाल’को नारा दिएपछि उद्योगीहरू उत्साहित थिए। तर हालको विद्युत् कटौती र गुणस्तरीय आपूर्तिको अभावले उद्योगहरूको उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रिया प्रभावित भएको छ। अग्रवालले भने, ‘औद्योगिक क्षेत्रका लागि विद्युत् सबैभन्दा महत्वपूर्ण स्रोत हो र यसको नियमित आपूर्ति नहुँदा उद्योग सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ।’
विशेष गरी पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरूले विद्युत् कटौतीका कारण थप समस्या झेलिरहेका छन्। ‘डिजी सेट प्रयोग गरेर उद्योग सञ्चालन गर्दा उत्पादन लागत बढ्छ र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता घट्दै जान्छ,’ विज्ञप्तिमा भनिएको छ। साना उद्योगहरूमा विद्युत् कटौतीका बेला डिजी सेट प्रयोग गर्न नसक्ने अवस्था पनि रहेको छ, जसका कारण उनीहरूलाई उद्योग बन्द गर्नुपर्ने बाध्यता परेको छ।
अग्रवालले करिडोरका औद्योगिक फिडरमा बारम्बार ट्रिपिङका कारण औद्योगिक उपकरणहरूको बिग्रिन र कच्चा पदार्थहरूको नोक्सान भइरहेको बताएका छन्। यसले उद्योगहरूको कार्यसम्पादनमा प्रत्यक्ष असर पुर्याएको छ।
समाधानको रूपमा, संघले लोडसेडिङको समयावधि निश्चित गर्ने र त्यस बाहेकका समयमा गुणस्तरीय विद्युत् आपूर्ति गर्ने कुरा उठाएको छ। साथै, संघले विद्युत् प्राधिकरणसँग वैकल्पिक व्यवस्था गर्न र समस्याको शीघ्र समाधानका लागि सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएको छ।