तीन दिनअघि बारामा मृत भेटिएका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या सानो हतियारको गोली प्रहारबाट भएको खुलेको छ। नारायणी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टले टाउँको पछाडिबाट गोली हानेर हत्या गरिएको देखाएको छ। तर, हत्यामा प्रयोग भएको हतियारको पहिचान हुन सकेको छैन। बरामद गोलीको परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
प्रहरीका अनुसार मृतक रुम्बा इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भए पनि सिमरा विमानस्थलको सुरक्षागार्डमा खटिएका थिए। शुक्रबार राति इन्सपेक्टर श्रीकान्त तिवारीसँग गाडी लिएर कलैयातर्फ निस्किएका उनी शनिबार बिहान सिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सडकमा गाडीभित्र मृत अवस्थामा फेला परेका थिए।
घटनापछि बारा प्रहरीले गहन अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले घटनाको अनुसन्धानका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको बताए। काठमाडौं र मधेस प्रदेशबाट थप अनुसन्धान टोली परिचालन गरी सूक्ष्म अध्ययन अघि बढाइएको छ।
प्रहरीले घटना शंकास्पद देखिएपछि राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। इन्सपेक्टर तिवारीले मृतकलाई गाडी चलाउन दिएको कुरा, घटनाको राति उनीहरूसँग भएको भेटघाट, र गाडी प्रयोगका विषयमा कुनै जानकारी नदिनुजस्ता विषय शंकास्पद रहेको प्रहरीको भनाइ छ।
प्रहरी स्रोतका अनुसार रुम्बा शुक्रबार राति साढे ९ बजे गाडी लिएर निस्केका थिए। तर, विहान सिमरामा गाडीभित्र उनको शव फेला पर्नु र सो सम्बन्धमा इन्सपेक्टर तिवारीले प्रहरीलाई जानकारी नदिनुले घटना रहस्यमय बनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र हत्याको उद्देश्य पत्ता लगाउन प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। प्रहरी प्रमुख खड्काले भने, “घटनाको हरेक कोणबाट अध्ययन भइरहेको छ। इन्सपेक्टरसहितका व्यक्तिहरूको गतिविधि विश्लेषण गर्दै अनुसन्धान जारी छ।”