मधेश प्रदेशमा पछिल्लो ६ महिनामा ३६ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ। यो अवधिमा २४ पुरुष, १० महिला र २ बालबालिकाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
प्रहरी तथ्यांक अनुसार, सर्लाहीमा ६ जना, बारा र महोत्तरीमा ६/६ जना, धनुषा र सिरहामा ५/५ जना, रौतहटमा ४ जना, सप्तरीमा ३ र पर्सामा १ जनाको हत्या भएको छ।
सर्लाहीमा ४ पुरुष र २ महिला, सिरहामा ५ पुरुष, महोत्तरीमा ३ महिला, १ बालिका र २ पुरुष, बारामा ३ पुरुष, २ महिला र १ बालक, धनुषामा ३ पुरुष र २ महिला, रौतहटमा ३ पुरुष र १ महिला, सप्तरीमा ३ महिला र पर्सामा १ पुरुषको हत्या भएको तथ्यांकमा उल्लेख छ।
समाजसेवी प्रकाश थारुले भने, "समाज अहिले उच्छृङ्खल गतिविधिहरूबाट असुरक्षित बन्दै गएको छ। अपराध बढ्नुका प्रमुख कारण जनचेतनाको अभाव हो र हामी सबैलाई सावधानी अपनाउन आवश्यक छ।"
प्रहरीका एक अधिकारीले स्वीकार गरे कि अपराध न्यूनीकरणका लागि ठोस योजना बनाउनु पर्ने आवश्यकता छ। उनले भने, "हत्या भए पछि अनुसन्धान हुन्छ, तर अपराध नियन्त्रणका लागि प्रहरी संगठनले विशेष कार्ययोजना बनाएर काम गरेको छैन।"
उनका अनुसार, हत्याका घटनाहरू बढ्नुमा खुला सीमा, आपराधिक मनोविज्ञान, तस्करी, अनैतिक प्रेम सम्बन्ध, क्षणिक प्रेम सम्बन्ध र सीमामा वारपार गर्ने व्यक्तिहरूको रेकर्ड नहुनु जस्ता कारणहरू रहेका छन्।
विश्लेषकहरूका अनुसार, खुला सीमा, जनसंख्याको चाप, सामाजिक सञ्जालको दुरुपयोग र जनचेतनाको अभावजस्ता कारणले अपराधमा वृद्धि भएको छ। प्रहरी संगठनले ठोस योजना र रणनीति बनाएर काम गर्न नसक्दा सुरक्षा चुनौती थपिएको सुरक्षाविद्हरूको टिप्पणी छ।