एल डब्ल्यु इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगञ्जद्वारा आयोजित पर्सा युथ फेस्ट प्रतियोगिता सोमबार सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस अन्तरविद्यालय प्रतियोगिता ज्ञान्दा एकाडेमी स्कूलको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको क्षमता अभिवृद्धि र अतिरिक्त क्रियाकलापहरूको माध्यमबाट उनीहरूको व्यक्तिगत र बौद्धिक विकासलाई प्रोत्साहन गर्नु थियो। आयोजक संस्था एल डब्ल्यु इभेन्ट एण्ड म्यानेजमेन्टका प्रोग्राम कोडिनेटर आकाश चौहानले कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थिहरूमा छिपेका प्रतिभा उजागर गर्नु रहेको जानकारी दिए।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो। नृत्यतर्फ नेपाल कावेरी एकाडेमी स्कूलले पहिलो स्थान हासिल गर्यो, जबकि अल्पाइन सेकेण्डरी स्कूल दोस्रो र मुन लाइट सेकेण्डरी स्कूल तेस्रो स्थानमा रहे। पोयट्रीतर्फ नेपाल कावेरी एकाडेमी स्कूलले पहिलो स्थान प्राप्त गरेको छ भने ज्ञान्दा एकाडेमी स्कूल दोस्रो र ब्राइट पब्लिक स्कूल तेस्रो स्थानमा रह्यो। बुद्धिचाल (चेस) प्रतियोगितामा नेशनल इन्फोटेक कलेज पहिलो स्थानमा, मुनलाइट माध्यमिक विद्यालय दोस्रो र अल्पाइन सेकेण्डरी स्कूल तेस्रो स्थानमा रह्यो। क्विज प्रतियोगितामा साउथजोन माध्यमिक विद्यालयले पहिलो स्थान प्राप्त गर्यो, सिद्धार्थ माध्यमिक विद्यालय दोस्रो र ज्ञान्दा एकाडेमी स्कूल तेस्रो स्थानमा रहे।
वादविवाद प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयले पहिलो, अल्पाइन सेकेण्डरी स्कूलले दोस्रो र माइस्थान विद्यापीठले तेस्रो स्थान हासिल गरेका छन्। विज्ञान क्रियाकलापमा नेशनल इन्फोटेक कलेजले पहिलो स्थान प्राप्त गर्यो भने गायन प्रतियोगितामा साउथजोन माध्यमिक विद्यालय प्रथम, नेशनल इन्फोटेक कलेज दोस्रो र ज्ञान्दा एकाडेमी स्कूल तेस्रो स्थानमा रहे।
स्कूल अफ दी इयर अवार्ड पनि प्रतियोगितामा वितरण गरिएको थियो। यस अवार्डमा नेशनल इन्फोटेक कलेजले पहिलो र नेपाल कावेरी एकाडेमी स्कूलले दोस्रो स्थान प्राप्त गरे। विजेता विद्यालयलाई विभिन्न पुरस्कार र छुटहरूको व्यवस्था गरिएको थियो। नेशनल इन्फोटेक कलेजलाई ३० प्रतिशत र नेपाल कावेरी एकाडेमी स्कूललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक आकाश चौहानले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरूको महत्त्वपूर्ण स्थानलाई उल्लेख गर्दै, “आजको कार्यक्रममा विद्यार्थीहरूमा नयाँ प्रतिभाको विकास देखेर म गर्वित छु। यसले हाम्रो शिक्षा प्रणालीको सकारात्मक परिणाम देखाएको छ,” भने। उनले आगामी दिनहरूमा सरकारी विद्यालयहरूको अनुगमन पनि गर्न आग्रह गरे।
विशिष्ट अतिथि नेपाली कांग्रेस पार्टीका क्षेत्रीय सभापति अरविन्द गुप्ता, मोहित ग्रुपका म्यानेजिङ डाइरेक्टर डा. सुबोध गुप्ता र नेपाली कांग्रेस पार्टीका युवा नेता कञ्चन झाले पनि कार्यक्रमको महत्व र विद्यार्थिहरूको प्रतिभा प्रगति गर्नुका साथै यस्ता प्रतियोगिताहरूको आयोजना गर्न आह्वान गरे।
कार्यक्रमका सहआयोजक अंकुश दैनिक र एजुकेशन पार्टनर तुलास इन्सिच्युट देहरादूनको योगदान उल्लेखनीय थियो। प्रतियोगितामा सहयोग गरेका विभिन्न संघसंस्थाहरूलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्साल, सिटी डान्स एकाडेमीका सञ्चालक राजन रौनियार, सञ्चारकर्मी बिमला गुप्ता, वीरगन्ज महानगरपालिका वडा नं ८ र १० का वडा अध्यक्षहरू, शिक्षक-शिक्षिकाहरू लगायत विद्यार्थीहरूको सहभागीता थियो। कार्यक्रम एल डब्ल्यु इभेन्टका सञ्चालक विकास चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चारकर्मी आनन्द पटेलले गरेका थिए।