नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्ल इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन्। उनलाई डेजर्ट भाइपर्स टोलीले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो।
मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा समावेश गरिएको हो। डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मल्ललाई टिमले आबद्ध गरेको जनाएको छ। डेजर्ट भाइपर्सका क्रिकेट निर्देशक टम मुडीले मल्ललाई टिममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।
"उनी युवा खेलाडी भए पनि सानै उमेरमा धेरै अनुभव बटुलिसकेका छन्। उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी हुनेछन्," मुडीले प्रतिक्रिया दिएका छन्। मुडीका अनुसार मल्लले ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्षम छन्। मल्लको १४७ हाराहारीको स्ट्राइक-रेटले उनको क्षमता स्पष्ट पार्ने बताउँदै, यस अनुबन्धले मल्ललाई अन्तर्राष्ट्रिय स्तरको थप अनुभव प्राप्त गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।
एनपीएलमा प्रदर्शन र उपलब्धि
कुशल मल्लले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज टिमको कप्तानी गरेका थिए। प्रतियोगितामा उनको टिम चौथो स्थानमा रहेको थियो। मल्लले ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका थिए। टी२० अन्तर्राष्ट्रियमा मल्लले ४७ खेलमा ९१७ रन बनाएका छन् भने १९ विकेट लिएका छन्। उनी टी२०आईमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन्।
डेजर्ट भाइपर्सको स्टार स्क्वाड
डेजर्ट भाइपर्सको टोलीमा फकार जमान, एलेक्स हेल्स, साम करान, वानिन्दु हसरङ्गाजस्ता विश्वचर्चित खेलाडीहरू छन्। प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरु हुनेछ।