नासाको पार्कर सोलार प्रोबले सूर्यको सबैभन्दा नजिकबाट अध्ययन गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने प्रयास गरिरहेको छ। यो अन्तरिक्षयान सूर्यको बाहिरी वायुमण्डलमा प्रवेश गरी उच्च तापक्रम र विकिरणको कठोर परिस्थितिको सामना गरिरहेको छ।
यस पटकको उडानका क्रममा प्रोब केही दिनसम्म पृथ्वीसँग सम्पर्कविहीन हुनेछ। वैज्ञानिकहरू डिसेम्बर २८ मा बिहान ५:०० GMT मा आउने संकेतको प्रतीक्षा गरिरहेका छन्, जसले यसले सफलतापूर्वक यात्रा पूरा गरे/नगरेको पुष्टि गर्नेछ।
यो मिसनको उद्देश्य सूर्यलाई अझ राम्रोसँग बुझ्नु हो। नासाका विज्ञान प्रमुख डा. निकोला फक्सले बीबीसीलाई भने, “सूर्यको अध्ययन धेरै शताब्दीयौँदेखि भइरहेको छ। तर, कुनै पनि स्थानको वायुमण्डलको अनुभव गर्नु परेमा त्यहाँ पुग्नैपर्छ। हामीले पनि सूर्यको वायुमण्डललाई अनुभव गर्न त्यसमा उड्नुपर्छ।”
पार्कर सोलार प्रोबको यात्रा
यो प्रोब २०१८ मा सूर्य केन्द्रित मिसनका लागि प्रक्षेपण गरिएको थियो। यसले अहिलेसम्म २१ पटक सूर्य नजिकबाट यात्रा गरिसकेको छ। तर, यो क्रिसमस इभमा गरिएको यात्रा विशेष छ, किनकि यसले सबैभन्दा नजिकको दूरीमा पुगेर नयाँ कीर्तिमान बनाएको छ।
यस पटक प्रोब सूर्यको सतहबाट केवल ३८ लाख माइल (६२ लाख किलोमिटर) टाढा पुग्दैछ। नासाका अनुसार यो दूरीलाई बुझ्न, यदि पृथ्वी र सूर्यलाई १ मिटरको दूरीमा राखिएको मानियो भने पार्कर प्रोब केवल ४ सेन्टिमिटरको दूरीमा छ।
यो यात्राका क्रममा प्रोबले १,४०० डिग्री सेल्सियसको तापक्रम र अत्यधिक विकिरण सहनुपर्छ। यसलाई ११.५ सेन्टिमिटर मोटाईको कार्बन-कम्पोजिट ढालले सुरक्षा दिएको छ। प्रोबको गति ४,३०,००० माइल प्रति घण्टा छ, जुन मानवद्वारा निर्मित कुनै पनि वस्तुको उच्चतम गति हो।
किन आवश्यक छ सूर्यलाई नजिकबाट अध्ययन गर्ने?
वैज्ञानिकहरूले प्रोबको मद्दतले सूर्यको बाहिरी वायुमण्डल कोरोना सम्बन्धी रहस्य पत्ता लगाउने अपेक्षा गरेका छन्।
“सूर्यको सतहको तापक्रम करिब ६,००० डिग्री सेल्सियस छ, तर कोरोनाको तापक्रम लाखौँ डिग्री पुग्छ। त्यो सतहबाट पर भएको स्थान कसरी यति तातो हुन्छ भन्ने हाम्रो लागि रहस्य हो,” फिफ्थ स्टार ल्याब्सकी खगोलविद् डा. जेनिफर मिलार्ड बताउँछिन्।
यसले सौर्य हावाका बारेमा पनि अध्ययन गर्नेछ, जसले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्दा झिलिमिली अरोरा देखिन्छ। तर, यसले पावर ग्रिड, इलेक्ट्रोनिक्स र संचार प्रणालीमा समस्या पनि ल्याउन सक्छ।
वैज्ञानिकहरूको उत्सुक प्रतीक्षा
क्रिसमसको समयमा वैज्ञानिकहरू प्रोबबाट आउने संकेतको प्रतीक्षा गरिरहेका छन्। नासाकी निकोला फक्सका अनुसार संकेत आएपछि टोलीले उनलाई हरियो मुटुको इमोजीसहित मेसेज पठाउनेछ।
उनी प्रोबको सुरक्षाका लागि चिन्तित भए पनि यसको क्षमतामा पूर्ण विश्वास छ। “यो प्रोब अत्यन्त कठोर परिस्थितिहरू सहनेगरी डिजाइन गरिएको छ। यो निकै बलियो र साहसी अन्तरिक्षयान हो,” उनले भनिन्। साभारःबीबीसी