१) सानो उमेरमा नै विवाह किन भएको हो ?
बुबालाई एकदम बिसन्चो भयो । जन्मपत्रिकामा दोष देखियो । बुबाको अन्तिम इच्छा पुरा गर्नको लागि मेरो १३ वर्षको उमेरमा विवाह भयो । भारतमा २० वर्ष अगाडी केटीहरु बोल्न मिल्दैनथ्यो । आफू बाल्यकालमा विवाह भयो । विवाह भएपछि के हुन्छ भन्ने मानसिकता थिएन । विवाहमा नयाँ कपडा,गहना र धेरै समानहरु पाइन्छ । त्यही नै विवाह हो भन्ने बुझेको थिए । विवाहपछि सासु ससुराको सेवा गर्नुपर्छ । घरको काम गर्नुपर्छ । भन्ने कुराको मलाई ज्ञान नै थिएन । बुबालाई बिसन्चो हुदाँ छिमेकी एकजना दिदीले नेपालमा विवाहको टुङ्गो लगाईदिनु भयो । त्यति बेला पनि दाइजो दिएको थियौं । दाइजो दिनको लागि आमाले आफ्नो गहनाहरु बेच्नु भएको थियो । मेरो विवाहमा जन्ती फर्किने अवस्था पनि आएको थियो । जन्तीलाई भनेको अनुसारको खाना दिन सकेका थिएनौं । पछि जन्तीहरुसंग हार गुहार मागेर विवाह भयो । मेरो र मेरा श्रीमानको उमेरमा १७ वर्षको फरक छ ।
२) तपाईले श्रीमान्बाट कत्तिको साथ पाउनु भएको छ ?
धेरै कुरामा साथ दिनुभएको छ उहाँले । मेरो पढाईको विषयमा भने उहाँले खासै साथ दिनु भएन । विवाह हुने बेलामा म कक्षा ८ मा पढिरहेको थिए । विवाहको १ वर्षपछि छोरी पाएँ । छोरी भएपछि किन छोरी पाएको हामीलाई छोरा चाहिन्छ भन्ने पनि परिवारको अपेक्षा थियो । १४ वर्षको उमेरमा मैले छोरी पनि पाइसकेको थियो । मलाई सबै कुराको धेरै नै गाह्रो भएको थियो । सासुलाई छोरा चाहिएको थियो । सासुको भनाइ थियो । म मर्नुभन्दा पहिला मलाई आफ्नो नाती हेर्नु छ, खेलाउनु छ । फेरि त्यसको २ वर्षपछि मेरो छोरा जन्मियो । त्यहाँदेखि नै मेरो संघर्ष सुरु भयो । १५, १६ वर्ष उमेरसम्म नै मैले धेरै कुराहरु देखिसकेको थियो । त्यसपछि मेरो बुबालाई केही निको भयो । बुबालाई आफ्नो छोरीको सानै उमेरमा विवाह गरेको पछ्ुतो लाग्यो । बुबाले भन्नु भयो । म तिमीलाई अगाडी पढाउछु । त्यसपछि मैले पनि आफ्नो घरमा आफ्नो पढाइको कुरा राखे । मेरो सासु रुढिवादी सोचको हँुदा पढ्नु पर्दैन भन्नु हुन्थ्यो । मेरो बुबाले इंडियामा नै नाम लेखाएर किताब ल्याइ दिनुभयो । दिनमा घरको काम गर्ने र रातिमा बच्चा सुतेपछि पढ्ने गरें । श्रीमानले पनि पढिरहेको छ भने पढोस् भन्नु भयो । अनि मलाई अलि सजिलो भयो ।
३) तपाईले कतिसम्म पढनु भएको छ ?
मैले इडियाबाट स्नाहतक गरेको छु । मानिसले भन्छन् श्रीमानले पढाइ दियो । श्रीमानले पढाइ दिएको भए मेरो फारम यही भरेको हुन्थ्यो । नेपालमा नै पढ्ने गर्थें । सायद मेरो ससुरालीबाट साथ पाएको भए म नेपालबाटै आफ्नो पढाइ सकाउथे । किन भने यहाँ मेरो फारम भरी दिने, मलाई कलेजसम्म पु¥याइ दिने यस्तो गर्न कोही सहयोगी बन्नु भएको थिएन । परिक्षा दिने बेलामा म आफ्नो घर जान्थे । परिक्षा दिएर फेरि आउँथे ।
४) अनमेल विवाहले सम्बन्धमा कस्तो असर पर्दो रहेछ ?
अनमेल विवाहले जिवनमा धेरै असर पार्दो रहेछ । मेरो श्रीमानलाई समझदार श्रीमति चाहिएको थियो । तर म बाल्यावस्थामा नै थिए । हामीहरुको भावना मिलिरहेको थिएन । विवाह गर्नको लागि उमेर समान नै हुनुपर्छ । एउटा कुरा अझै जिवन बिताउनको लागि शिक्षा र उमेर दुबै समान हुन आवश्यक छ । जसरी मैले आफनो पढाइ पुरा गरे सकेपछि मेरो सोच्ने विचार, मेरो कुराहरु अब मैले २३ वर्षको उमेरमा स्नाहतक गरिसकेको थिए । त्यति बेलाको मेरो मानसिक र शारिरीक अवस्था राम्रो थियो ।
५) संघर्ष गर्दै घरबाट बाहिर कहिले निस्कनु भयो ?
हामी एक जना बिरामी हेर्न गएका थियौं । त्यहाँ दिलिप कार्की सर भेट्नु भयो । उहाँले मेरो पढाइको बारेमा सोध्नु भयो र म सित खुशी भएर भन्नु भयो म तपाइको लागि केही गर्छु । उहाँले शंकर अचार्यसंग भेट गराउनु भयो । उहाँले मेरो पढाईको बारेमा कान्तिपुर पत्रिकामा लेख लेख्नु भयो । २०७१ सालमा समता विद्यालयको कारागार भित्र स्थापना भयो । खाना पकाउँदा मलाई रेडियो सुन्ने एकदम रहर थियो । त्यसै बेला रेडियोमा समता विद्यालयको स्थापना भएको छ । शंकर अचार्यको कोडिनेसनमा भएको समाचार सुनेको थियो । मैले उहाँलाई फोन गरेर भने कारागारको विद्यालयमा घुमाइ दिनुस् न । उहाँले बोलाउनु भयो त्यहाँ अन्तरवार्ता चलिरहेको थियो । मैले पनि अन्तरवार्ता दिए । म पास पनि भए । त्यहाँ २ घण्टा दिनको लागि बिहान ४ बजे उठेर घरको सबै काम गरेर समता विद्यालयमा शिक्षकको रुपमा काम गर्न थाले । त्यसपछि नेपालीमा बोल्नको लागि आफ्नो छोराछोरीको किताबहरु पढ्ने गर्थे ।
६) समता विद्यालयमा कस्ता विद्यार्थीहरु पढ्छन् ?
समता विद्यालयमा स्थापनाको समयमा २५ जना विद्यार्थी थिए । कारागारमा भएका बच्चालाई पढाउन नसक्नेहरुका लागि त्यहाँ पढाउने गरिन्थ्यो । त्यस्ता बच्चाहरुलाई महत्व दिने गरिन्थ्यो । हामीले बाहिर फोहोर टिप्पने सडकका बालबालिकाहरुलाई पनि ल्याएर पढाउन थाल्यौं । बाहिरको बालबालिकालाई पढाउन थालेपछि दलित समुदायको बालबालिका पनि पढ्न आउन थाले । त्यस विद्यालयमा दलित समुदायका र कैदीहरुको बच्चाहरु पढ्छन् ।
७) विद्यालयमा पढाउँदा श्रीमानको साथ पाउनु भयो ?
सुरुवातमा काम गर्नको लागि मनाउन गाह्रो भएको थियो । श्रीमानलाई सकारात्मक कुराहरु बताएर काम गर्नको लागि मनाए । कति पटक घरबाट श्रीमानले फोन गरेर भन्नु भएको थियो । घरमा काम गर्न गाह्रो भइरहेको छ अनामिका पढाउन जान्दिनन् । विद्यालयमा पढाउन धेरै संर्घष गर्नु परेको थियो ।
८) आफ्नो पहिलो तलब याद छ ?
त्यति बेला ५ हजारको तलब थियो । पहिलो तलबबाट सबै भन्दा पहिला गहवामाई मन्दिरमा गएर प्रसाद चढाए । छोराछोरीलाई, सासु र आफ्नो लागि कपडा किने । श्रीमानलाई पैसा दिदाँ हामीलाई कति दुःख भइरहेको छ । प्रोत्साहनको सट्टामा यति पैसाले के हुन्छ भन्नु भयो । म ५ सयमा खुशी हुने मानिस ५ हजार तलब पाउँदा धेरै खुशी लाग्यो ।
९) घर बाहिर काम गर्दा कस्तो अनुभव रह्यो ?
म विवाह भएपछि काम गर्नको लागि ९ वर्षपछि घर बाहिर निस्केको थिए । पहिलो दिन रिक्साले कारागारसम्म गए । घर फर्कदा खेरी बाटो नै बिर्सिए । म जानु पर्ने दुर्गाहल रामटोल थियो । म नारायणी हस्पिटल पुगेको थियो । त्यहाँबाट रिक्सा चढेर घरसम्म पुगे । विवाहपछि कसैको विवाह हुदाँ रातिमा मात्र जान्थ्यौं । रिक्सामा गयो रिक्सामा आयो । वीरगंजमा माईस्थान, गहवा, रामटोल त्यति नै थाहा थियो । घरभित्र बस्दा खेरी बाहिरको ठाउँहरु थाहा भएन । मधेशी परिवारको बुहारी भएर बाहिर काम गर्न जाँदा साडी लगाएर जानु आउनु पर्ने थियो । बच्चाहरु विद्यालयसम्म पु¥याउन जाँदा पनि साडी लगाउनु र टाउको छोप्नु पथ्र्यो ।
१०) विद्यालयमा कति शिक्षका छन् ?
४ जना महिला शिक्षका छौं । मैले आफ्नो विवाह गरेपछि धेरै अनुभव बटुलेको छु । महिलाको समस्या बुझेर आफ्नो कार्यलयमा सबै महिला नै राखेको छु । विद्यार्थीहरुमा पनि बढी महत्व छात्राहरुलाई नै दिन्छु । समता विद्यालयमा बस्ने पढने केटीहरु अझै बाहिरको दलित, विपन्न वर्गको केटीहरुलाई लिएर आफुसंग राखिरहेको छु । हामीले २० जना छात्राहरु राखेको छौं । त्यो छात्राहरुको कसैको बुवा जेल भित्र छन् । कसैको बुबा बितिसक्नु भएको छ । कसैको ५,६ वटा छोरी नै छ । ४ वर्ष देखि १४ वर्षको केटीहरुलाई राखेको छु । ४ वर्ष केटीहरुलाई हेरचाह गर्न एक जना दिदीलाई राखेका छौं । ठूलो केटीहरुलाई हामीले हेर्छौ । आफुसंग सानो उमेरमा भएको घटनाहरुको अनुभव छ । उनीहरुलाई नहोस् भनेर आफ्नो साथमा राखेको छु । १८ वर्षसम्मसंगै राखेर विवाह कुनै खेल होइन । जिम्मेवारी बोक्नु पर्छ । त्यो जिम्मेवारीलाई निर्वाह गर्न सक्ने बनाइ विवाह गर्ने तर्फ मात्र सोच्न सक्ने बनाउन पर्छ । विवाह गरेपछि मैले जुन मानसिक यातना भोग्नु प¥यो । ति बालबालिकाहरुले भोग्नु नपरोस् ।
११) चाइल्ड भिजन नेपालले कस्तो कार्यक्रम गर्छ ?
चाइल्ड भिजन संस्थामा महिलालाई सशक्तिकरणको लागि काम गर्ने गरेका छौं । हामीले असहाय विदुवा, श्रीमानले छोडेका महिलाहरुको लागि सहयोग गर्छौ । केटीहरुलाई समाजको बारेमा वा आफूले भोगेको कुराहरु सुनाएर उनीहरुलाई सशक्त बनाउने । उनीहरुलाई सानैदेखि तिमी केही गर्न सक्छौं । भनेर मानसिकता बलियो बनाउने र हरेक वाधा र चुनौतिहरुसंग समाधान गर्न सक्षम बनाउनु हाम्रो उद्देश्य हो । संस्थाले ३ वटा विद्यालयमा काम गर्ने लक्ष्य लिएको छ । वीरगंजको भुटनदेवी, कलैयाको सुन्दर बस्ती, कारागार भित्रको समता विद्यालयमा काम गरिरहेका छौं । भुटनदेवीमा डोम बस्तीको बच्चाहरुलाई राखेका छौं । अहिले पनि त्यहाँको महिलाहरुको स्थिति दयनीय छ । हामी अगाडी बढी सकेपछि महिलाहरुले अहिले पनि मानसिक र शारीरिक यातना भोग्न परिरहेको अवस्था छ । हामीले त्यस्ता महिलालाई सक्दो सहयोग गर्छौ । बच्चाहरुलाई पढाउनको लागि उनीहरुको घरमा गएर बच्चाहरुको आमा बुवालाई मनाउछौं ।