नेपालको प्रमुख प्रवेशद्वार अर्थात आर्थिक नगरीको रुपमा चिनिने वीरगन्जबाट दिनहुँ अर्बौको व्यापार हुन्छ । आर्थिक नगरी भनी वीरगन्जलाई भनिएको पनि व्यापारिक कारोवार बढि भएर नै हो ।
नेपाल भारतको खुल्ला सिमाना भएको कारण यहाँ हुने व्यापारको ५० प्रतिशत जति हिस्सा अवैधानिक तरिकाबाट हुने गरेको समय समयमा फेला परेका अवैध मालबस्तुको तथ्याँकले पुष्टी गरेको छ । कहिले नक्कली नोट बरामद, कहिले लाखौं करोडौं अवैध रकम सहित हुण्डी कारोबारी पक्राउ त कहिले ट्रकका ट्रक तस्करीको सामान बरामद हुनु यसैको ज्वलन्त उदाहरण हो । यसले प्रष्ट हुन्छ कि वीरगन्जमा कतिको अवैध व्यापार हुँदो रहेछ भनेर । यस्ता अवैध व्यापारमा व्यापारी मात्रै दोषी छैनन्, त्यसलाई प्रहरी प्रशासनदेखि लिएर भन्सार कार्यालयमा कार्यरत कर्मचारी सहितले सघाउ पु¥याउने गरेको कसैसामु खुलेको छैन ।
भंसारका कर्मचारीहरु पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि तस्करहरुको ईसारालाई सेतो झण्डी देखाई संरक्षण दिइरहेको अवैध कारोवार गर्ने कारोवारीले नै बताएका छन् । कहिले काँही भन्सारमा खटेका सशस्त्र प्रहरीले पनि सानो तिनो तस्करको सामान पक्राउ गरेको सार्वजनिक गर्छन् । ठूल्ठूला तस्करी गर्नेको भने अवैध धन्दालाई प्रहरीले पनि आँखा चिम्लिएर सिंगनल दिएको कारोवारीहरु कै तर्क छ । आखिर पैसा कस्लाई चाहिदैन र ? उनीहरुले भने ।
लुकाई छिपाई चोरीको बाटो प्रयोग गरी तस्करी हुने त यहाँको फेसन जस्तै बनेको छ । तस्करी नियन्त्रणका लागि वीरगन्जको अलौंमा निर्मित एकिकृत भंसार जाँच चौकीबाटै ट्रकका ट्रक तस्करीको सामान आयात निर्यात भइरहेको पुष्टि भएको छ । एकीकृत जाँच चौकी (आईसीपी) वीरगन्जबाट मटर चुनी (भुस) को नाममा जाँचपास भएको दुई ट्रकमा रक्सौल पुग्दा मटर बरामद भएको छ । २५ हजार केजी मटर चुनी (भुस) घर पालुवा जनावरको खानामा प्रयोग गरिने खाद्य सामाग्री भनेर प्रक्रिया सकेर सोमबार साँझ एकिकृत भंसार जाँच चौकीबाट जाँचपास गरी निस्केको बी.आर. ०६ जी २८३८ र एम.पी. ०९ एच.एफ. ८९०९ नम्बरको ट्रकलाई भारतको रक्सौल पन्टोका स्थित हवाई अड्डा बाइपास सडकबाट ४७ नं. को भारतीय सुरक्षा बल (एस.एस.बी.) बटालीयनले नियन्त्रणमा लिएको हो । दुबै ट्रक माथि र पछाडिको भागमा भुस राखिएको भए पनि भित्री भागमा ४० टन मटर (केराउ) बरामद भएको पन्टोका स्थित एस.एस.बि. ४७ नं. बटालियन कमान्डेन्ट प्रियवर्त शर्माले बताए ।
भारतीय सुरक्षा बलका निरीक्षक अभिनाश कुमारको नेतृत्वमा खटेका सीमा सुरक्षा बलका प्रहरीले दुबै ट्रकलाई नियन्त्रणमा लिएको थियो । विशेष सूचनाको आधारमा नेपाल तथा भारत दुबै एकिकृत जाँच चौकीबाट जाँच पास भई निस्केको ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुसँग बिलबिजक समेत नभएको र केही बेरमा बिल मगाए पनि २५ हजार केजी मटर चुनी (भुस) को बिल ल्याएपछि ट्रकमा चेकजाँच गर्दा ट्रकको बाहिरी भागमा भुसको बोरा तथा भित्री भागमा मटर भेटिएको थियो । प्रति ट्रक ४ सय बोरा गरी ८ सय बोरा मटर बरामद भएको र प्रति बोराको तौल ५० केजी रहेको निरीक्षक अभिनाश कुमारले बताए ।
एस.एस.बि.ले ट्रकको साथसाथै चालक मोतिहारी जिल्ला बढरिया बस्ने २२ वर्षीय अख्तर तथा जिल्ला मोतिहारी थाना रामगढवा बेला गाउँ बस्ने २९ वर्षीय रफि अहमदलाई नियन्त्रणमा लिएको छ । चालकद्वयका अनुसार मटर चुनी (भुस) लोड गरेर ल्याउन आफूहरुलाई नेपाल पठाइएको र वीरगन्जको परवानीपुर स्थित नारायणी दास मिलबाट भुस पनि लोड गरिएको बताएका छन् । तर भुसको भित्र मटर लोड गरिएको आफूहरुलाई थाहै नभएको उनीहरको तर्क छ । उनीहरुले आफूहरुलाई फसाउने कार्य भएको भन्दै भन्सार एजेण्ट पशुपति सिंहले आफै उपस्थित भई भुस भनेर ल्याइएको ट्रकलाई नेपाल स्थित एकिकृत जाँच चौकीमा भन्सारको कर्मचारीले माथि माथिबाटै चेकजाँच गरेकोले यस कार्यमा भन्सार कर्मचारीको समेत मिलोमतो रहेको दावी गरे ।
ट्रक चालकले मगाएको कागजतका अनुसार गत जेठ १ मा वीरगन्जको जय माँ बिन्ध्वासिनी इम्पेक्सले सीमावर्ती रक्सौल आश्रम रोडको भरत ट्रेडिङलाई २५ हजार किलो मटर चुनी बिक्री गरेको छ । त्यसैको आधारमा वीरगन्ज उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरिदिएको छ । नेपाली उत्पादनको उत्पत्तिको प्रमाणपत्र, इनभ्वाइस बिल र प्याकिङ लिस्टको आधारमा आईसीपी भन्सारका कर्मचारीले जाँचपास गरेका छन् । प्रज्ञापन पत्रमा मटरको चुनी घोषणा गरिएको भए पनि ट्रक भित्र कुन वस्तु लोड गरिएको छ भनेर कसैले भौतिक परीक्षण नगरेको यो घटनाले पुष्टी गरेको छ । दुईवटा एकीकृत भन्सार चेक पोस्ट पार गरी आएको ट्रकबाट ठूलो परिमाणमा मटर बरामद हुँदा सुरक्षाकर्मी आश्चर्यमा परेका छन् ।
एक पटकमा ४० टन मटर तस्करी हुन्छ भने यस्तो पटक पटकको निर्यातमा कति टन अवैध बस्तु पनि निर्यात पैठारी भइरहेको छ ? वीरगन्ज स्थित एकिकृत जाँच चौकीको तथ्याँक अनुसार यस आर्थिक वर्ष २०७५÷०७६ मा २६४ मेट्रिक टन भुस निर्यात भएको छ । घर पालुवा जनारको लागि चाहिने खानाको रुपमा प्रयोग गरिने मटरको चुनी लगायत रहर दालको चुनी, मुसुरो दालको चुनी समेत गरी निर्यात भएको तथ्याँकले देखाउँछ । २५ मेट्रिक टन भुसमा ४० मेट्रिक टन मटर निर्यात हुन्छ भने २६४ मेट्रिक टन भुषमा कतिको मटर मिसिएको होला ? कुनै अनुमान गर्न सकिन्न ।
मटरको मूल्य नेपालमाभन्दा भारतमा किलोमै २५ रुपैयाँ बढी पर्ने भएपछि यसको अवैध निकासी बढेको व्यापारीहरुको भनाइ छ । तेश्रो मुलुकबाट नेपाल भित्र्याइएको मटर अवैध तरिकाले भारत निकासी हुने गरेको छ । आईसीपी भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीले मटर चुनीको नाममा जाँचपास भएको ट्रकबाट मटर बरामद भएको आधिकारिक रूपमा जानकारी नआएको भन्दै यसबारे आफू केही बोल्न नमिल्ने बताए । दुवै ट्रकको निकासी शुल्क बापत १२ हजार ५ रुपैयाँ दाखिला गरिएको छ उनले भने ।