विश्वभर लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप आगामी १ जनवरी २०२५ देखि केही स्मार्टफोनहरूमा नचल्ने भएको छ। मेटाले २० भन्दा बढी मोडेलका पुराना स्मार्टफोनमा ह्वाट्सएपको सेवा बन्द गर्ने निर्णय गरेको हो।
एन्ड्रोइड किटक्याट वा सोभन्दा पुरानो अपरेटिङ सिस्टममा असर
मेटाले एन्ड्रोइड किटक्याट वा सोभन्दा पुराना अपरेटिङ सिस्टममा अड्किएका सबै डिभाइसमा ह्वाट्सएपको पहुँच बन्द गर्ने निर्णय लिएको हो। "आईफोन सपोर्टको अन्त्यका साथै अब सामसङ, मोटोरोला, एचटीसी, एलजी र सोनी जस्ता ब्रान्डका करिब २० मोडेलमा ह्वाट्सएप चल्ने छैन," एचडी ब्लगले जनाएको छ।
प्रभावित स्मार्टफोनको सूची
१ जनवरी २०२५ बाट ह्वाट्सएप नचल्ने स्मार्टफोनहरूको सूची यस प्रकार छ:
सामसङ: ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस ४ मिनी
मोटोरोला: मोटो जी, रेजर एचडी, मोटो ई (२०१४)
एचटीसी: वन एक्स, वन एक्स प्लस, डिजायर ५००, डिजायर ६०१
एलजी: अप्टिमस जी, नेक्सस ४, जी २ मिनी, एल ९०
सोनी: एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी, एक्सपेरिया भी
डेटा गुम्न सक्ने जोखिम
यी सबै डिभाइसहरू करिब १० वर्ष पुराना भएका कारण ह्वाट्सएपले अब समर्थन गर्ने छैन। यस्तो अवस्थामा यी फोन प्रयोग गर्ने प्रयोगकर्ताले आफ्नो महत्त्वपूर्ण डेटा ब्याकअपमा सुरक्षित राख्नुपर्नेछ। एप नचल्दा डेटा गुम्ने जोखिम हुने भएकाले समयमै सावधानी अपनाउनुपर्नेछ।
सेवा बन्दको कारण
मेटाले पुराना अपरेटिङ सिस्टमका लागि अब नयाँ फिचरहरू तथा सुरक्षा अपडेट उपलब्ध गराउन नसकिने भन्दै यस्तो निर्णय लिएको हो। यसले पुराना डिभाइसका प्रयोगकर्तालाई नयाँ तथा अपडेटेड उपकरणमा स्विच गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।