चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको यो महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना हुँदैछ।
१८औं संस्करणको उद्घाटन उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनिए पनि उपस्थित हुन नसक्ने जानकारी आएपछि मन्त्री सिंहलाई निमन्त्रणा गरिएको उनले बताए।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्य
हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ। सौराहाका होटलको हाल ४० प्रतिशत रहेको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। महोत्सवका अवसरमा होटल तथा रेस्टुरेन्टले पर्यटकलाई १० प्रतिशत छुट दिने व्यवस्था मिलाएका छन्।
विविध कार्यक्रम समावेश
महोत्सवमा हात्ती श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, र स्थानीय कला, संस्कृति तथा कृषि उत्पादनको प्रदर्शन जस्ता कार्यक्रम आयोजना गरिनेछ। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, स्वदेशी र विदेशी ट्राभल एजेन्सीहरूसँग बीटुबी गोष्ठी, र चितवनको पर्यटन सम्भावनाबारे अन्तर्क्रिया कार्यक्रम समेत हुनेछ।
८० भन्दा बढी हात्तीको सहभागिता
महोत्सवमा निजी तथा सरकारी गरी ८० भन्दा बढी हात्ती सहभागी हुनेछन्। सौराहाका ६० वटा निजी हात्ती समेत कार्यक्रमका लागि समावेश गरिएका छन्। हात्ती बनभोज कार्यक्रममा सबै हात्ती सहभागी गराइने आयोजकले जनाएको छ।
हात्ती पोलो खेल हटाइयो
यस पटकको महोत्सवमा हात्ती पोलो खेललाई समावेश गरिए पनि पशु अधिकारकर्मीहरूको विरोधका कारण हटाइएको छ। क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले चितवन र टाइगर टप्सलाई चिनाउने यो खेल पुनः सुरु गर्न खोजिएको भए पनि विरोधका कारण कार्यक्रमबाट हटाउनुपरेको बताए।
पर्यटन र संरक्षणको सम्बन्ध
पूर्वअध्यक्ष घिमिरेले चितवनको पर्यटन र हात्तीबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै होटल र संरक्षणकर्मीहरूले हात्तीप्रति देखाएको माया र संरक्षणको महत्व औंल्याए।