पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीमाथि कारवाही नगरेको आरोप पीडित हरेन्द्र यादवले लगाएका छन्।
पीडित हरेन्द्र यादवले नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, "राजनीतिक पूर्वाग्रहबाट प्रेरित व्यक्तिहरूले पुष ९ गते भित्र्याउन तयारी गरेको धानमा आगजनी गरेका हुन्, र यस्ता व्यक्तिहरू विरुद्ध प्रहरीमा जाहेरी दिएपनि अहिले सम्म कारवाही गरिएको छैन।"
उनका अनुसार, यस घटनामा संलग्न व्यक्तिहरूले जनताको समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम नगर्न धम्की दिएका थिए। धम्की नमान्ने भएपछि उनीहरूले आगजनी गरेका हुन्।
आरोपितहरूमा वडा नं. २२ जगरनाथपुरका नरेश प्रसाद यादव, उमेश साह तेली, पन्नालाल महतो कोईरी र प्रदीप यादव रहेका छन्। यी व्यक्तिहरू विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरिएको थियो, तर हालसम्म कुनै कारवाही भएको छैन।
हरेन्द्र यादवका अनुसार, धम्की दिने र आगजनी गर्ने व्यक्तिहरूले उपेन्द्र यादवको कार्यक्रम गर्न नदिनुका साथै सामाजिक सञ्जालमा ‘मिशन कम्प्लिट’ लेखेको थाहा पाएपछि उनीहरूले कारवाहीको माग गरेका छन्।
आगजनीको घटनामा हरेन्द्र यादवको ११२० बोट धानको २१० क्विन्टल नष्ट भएको छ, जसको मूल्य करीब ७ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तै, परालको पनि क्षति भएको छ।
घटनामा जसपा नेपाल र जसपा पार्टी बीचको द्वन्द्व रहेको छ। जसपाका नेताहरूका अनुसार, पर्सा प्रहरीले पीडितको न्यायका लागि उपयुक्त कदम चालेको छैन र यसमा दबावको विषय पनि उठाइएको छ। जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले भने, “जसपा नेपाल सन्तुष्ट छैन, यदि कारवाही भएन भने चरणवद्ध आन्दोलन गर्नेछौँ।”
प्रहरी उपरीक्षक कुमोध ढुगेलले भने, "घटनाको विषयमा अनुसन्धान भईरहेको छ, हामी संवेदनशील छौं र कारवाही प्रक्रिया अगाडि बढाएका छौँ।"