पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको हो। यसअघि बिहीबार छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि लामिछानेको बयान प्रक्रिया अघि बढाइएको थियो। लामिछानेको बयान सकिएपछि इजलासले तोकेको पालोअनुसार अन्य प्रतिवादीहरूको बयान सुरु हुनेछ।
उक्त प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो। अदालतले सबै प्रतिवादीको बयान सकेपछि मात्र थुनछेक बहस र आदेश जारी गर्ने जनाएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलन प्रकरणमा गत आइतबार लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।
सरकारी वकिल कार्यालयका अनुसार सूर्यदर्शन सहकारी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा र लामिछाने, खनाल, जोशी तथा पछाइविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा समेत आरोप लगाइएको छ।