जनता समाजवादी पार्टी (जसपा) का वीरगञ्ज नगर कार्य समितिले संघीय मन्त्री प्रदीप यादवलाई बदनाम गर्ने नियतले गरिएको दुष्प्रचारको खेद प्रकट गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
नगर अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा जसपा टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संघीय मन्त्री प्रदीप यादव र पार्टीका कार्यकर्तालाई बदनाम गर्ने नियतले पत्रकार सम्मेलनमार्फत लगाइएका आरोपहरूको निन्दा गरिएको छ। साथै, उहाँलाई कारबाहीको माग गरिएको छ।
ज्ञापन पत्रमा उल्लेख गरिएको छ कि रामनरेश यादवको अभिव्यक्तिले समाजमा भाडभैलो निम्त्याउन र शान्ति सुरक्षामा खलल पुग्न सक्छ। त्यसैले यस्ता अनर्गल अभिव्यक्तिहरू दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कारबाही नगरे सो अभिव्यक्तिका कारण अप्रिय घटना निम्तिन सक्ने विषयमा प्रशासनलाई सचेत गराइएको छ।
वीरगञ्जको वडा नं. २२, जगरनाथपुरमा स्थानीय कृषक हरेन्द्र यादवको धानबालीमा आगलागी भएको घटनामा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवले संघीय मन्त्री प्रदीप यादवको संलग्नता रहेको आरोप लगाएका थिए। यस आरोपलाई जसपा नगर कार्य समितिले तथ्य प्रमाणविना गरिएको मनगढन्ते र प्रायोजित दुष्प्रचारको रूपमा अस्वीकार गरेको छ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीको घटनामा स्थानीय प्रशासनले छानबिन गरिरहेको र सबैलाई आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरेका छन्। उनले तथ्य प्रमाण बिना कसैलाई आरोप लगाउनु उपयुक्त नहुने र प्रमाणविना राखिएका अभिव्यक्तिहरूले समाजमा हानिकारक प्रभाव पर्न सक्ने प्रतिक्रिया दिएका छन्।
ज्ञापन पत्र बुझाउन जसपा पार्टीका नेता तबरेज अहमद, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, भिमा यादव लगायतका नेता कार्यकर्ताहरू सहभागी थिए।