अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को कार्यक्रम वुमन्स क्रियो फेस्टिभल वीरगंजमा सम्पन्न भएको छ । नेपाल क्रिकेट संघको सहयोग एवं पर्सा क्यानको आयोजनामा नारायणी क्रिकेट मैदानमा आयोजित कार्यक्रममा वीरगंजका करीब २ सय ५० जना छात्रालाई क्रिकेटसम्बन्धी प्रशिक्षण दिएको छ ।
कार्यक्रम नेपालका ७७ जिल्लामध्ये १० वटा जिल्लामा मात्रै आयोजना गरिने परिषदले जानकारी दिएको छ । मधेश प्रदेशका पर्सा र धनुषामा कार्यक्रम आयोजना हुने क्यानका उपाध्यक्ष रोशन सिंहले बताए । मधेश प्रदेश सरकार खेलकूदमन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
मन्त्री जयसवालले नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको बताउँदै मधेश प्रदेशबाट पनि प्रतिभावान् क्रिकेटरहरू राष्ट्रिय टोलीबाट खेलिरहेको बताए । मधेश प्रदेश सरकार खेल विकासको लागि आफ्नो तहबाट काम गरिरहेको उनले दाबी गरे । मन्त्री जयसवालले वीरगंजको नारायणी क्रिकेट मैदानमा चाँडै एलिट कप र मधेश प्रिमियर लिग आयोजना भइरहेकाले मधेशमा क्रिकेटर उत्पादनमा सघाउने प्रतिबद्ध गरे ।
कार्यक्रममा राष्ट्रिय अन्डर–१९ महिला टोलीकी कप्तान पूजा महतो र ओपनिङ ब्याटर साना परवीण लगायतले क्रिकेटबारेमा सहभागीहरूलाई प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा पर्साका सामुदायिक तथा निजी विद्यालयका करीब २ सय ५० जना छात्राहरूलाई ८ वटा समूहमा विभाजन गरी क्रिकेट कसरी खेल्ने सिकाए । कार्यक्रमबाट क्रिकेट खेलप्रति छात्रालाई उत्प्रेरित गर्न र पर्सा क्यानको महिला टीम बनाउन मदत पुग्ने नेपाल क्यानका अप्रेशन म्यानेजर विनोद दासले बताए ।
क्यान पर्साका अध्यक्ष मनीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका सेलेक्टर मुर्तुजा हवारी, पर्सा क्रियो कार्यक्रमका संयोजक वासुदेवलाल कर्ण, क्यानका पूर्वकेस दाउद अन्सारी, पर्साका सचिव घनश्याम गुप्तालगायतको सहभागिता थियो । ट्यालेन्ट हन्ट पर्साका संयोजक अमित आलोकले कार्यक्रमको सहजीकरण गरेका थिए ।