प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको समृद्धि र विकास एमालेकै नेतृत्वले हुने दाबी गरेका छन्। आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेसको विकासका लागि एमालेले विभिन्न ठूला परियोजनाहरू अघि बढाएको बताए।
हुलाकी राजमार्ग र स्मार्ट सिटी
ओलीले हुलाकी राजमार्ग निर्माणको काम एमाले नेतृत्वकै सरकारले सुरु गरेको भन्दै राजमार्ग क्षेत्रमै १० वटा स्मार्ट सिटी बनाउने योजना ल्याइएको जानकारी दिए। उनले भने, “तराई–मधेसका १ लाख २५ हजार बिघा जमिनमा सिंचाइ पुर्याउन सुनकोशी मरिन डाइभर्सन आयोजना अघि बढाइएको छ, जसले कृषि उत्पादनमा सुधार ल्याउनेछ।”
मधेसमा सामाजिक रूपान्तरणको प्रतिबद्धता
मधेसका महिलालाई घरभित्र मात्र सीमित नराखी बाहिर निस्केर अगाडि बढ्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै ओलीले एमाले कार्यकर्तालाई महिला सशक्तीकरणका लागि क्रियाशील हुन निर्देशन दिए। साथै, युवालाई कुलत र दुर्व्यसनबाट बचाउन विशेष कार्यक्रम ल्याउन एमाले लागिपरेको उनले बताए।
मिसन २०८४ सफल बनाउने योजना
प्रधानमन्त्री ओलीले एमालेको “मिसन २०८४” को लक्ष्यप्रति प्रतिबद्धता व्यक्त गर्दै भने, “देशभरका नेताकार्यकर्ताहरू एकजुट भएर आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न काम गर्नुपर्छ।” उनले एमालेलाई एकल बहुमत दिलाउन सके मात्र यो मिशन सफल हुने धारणा राखे।
पार्टी प्रवेश कार्यक्रममा उत्साह
कार्यक्रमका क्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसहित ५ हजारभन्दा बढी व्यक्तिले एमालेमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गराउँदै ओलीले एमालेमा सामेल हुनेहरूप्रति आभार प्रकट गर्दै मधेसको समृद्धिका लागि सबैको साथ आवश्यक रहेको बताए।
स्थानीय नेताहरूको सम्बोधन
कार्यक्रममा संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री ज्वाला साह, एमालेका मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रतिनिधि सभा सदस्य प्रभु हजरा लगायतले मधेसको विकास र समृद्धिका लागि एमालेको भूमिका र योजनाबारे धारणा राखे।
एमाले पर्साका अध्यक्ष डा. विश्वम्बर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पार्टीका नेताहरूले मधेसको सामाजिक, आर्थिक, र राजनीतिक रूपान्तरणका लागि संयुक्त प्रयासको आवश्यकता औँल्याउँदै सम्बोधन गरेका थिए।