प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता र विकासका लागि वर्तमान सरकारको आवश्यकता रहेको बताएका छन्। आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले अर्काको काँधमा चढेर शासन गर्ने शैलीको अन्त्य भएको दाबी गरे।
उनले आफ्नो भनाइ स्पष्ट पार्दै वर्तमान सरकारलाई गठबन्धन नभई समीकरणको परिणाम भने। ओलीले भने, “अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै मनपरितन्त्र चलाउने दिन सकियो। अहिले एमाले र कांग्रेसको समीकरणले स्थिरता र विकासका लागि मार्गप्रशस्त गरेको छ।”
ओलीले वर्तमान सरकारका कामहरू मुलुकको अस्थिर राजनीतिलाई अन्त्य गर्न र विकासलाई अघि बढाउन केन्द्रित भएको बताए। उनले भने, “देशमा अस्थिरता, षड्यन्त्र र भ्रष्टाचारले शासन गर्ने परिपाटीको अन्त्य गर्न यो समीकरण निर्माण गरिएको हो। ठूला पार्टीहरूबीच एकता गरेर मात्र यो सम्भव छ।”
ओलीले विगतमा सुरु भएका तर अधुरा रहेका विकास परियोजनाहरूलाई एमाले नेतृत्वले पुनः अघि बढाएको बताए। “विश्वास गर्नुस्, एमालेले नै मधेस र देशको समृद्धिको जिम्मेवारी लिन्छ। अहिलेको सरकार एमाले र कांग्रेसको छ, यसले विकासका सबै अपुरा कामहरू पूरा गर्नेछ,” उनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै ओलीले अर्काको काँधमा चढेर शासन गर्ने प्रवृत्ति समाप्त गर्नुपर्ने बताए। उनले थपे, “देशको स्थायित्व र समृद्धिका लागि ठूला पार्टीहरूको सहकार्य आवश्यक छ। काँधमा चढेर शासन गर्ने दिन सकियो, अब हामी विकास र स्थिरतामा केन्द्रित छौं।”
कार्यक्रममा नेकपा एमालेका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गरेका थिए। जनसभामा स्थानीय बासिन्दाहरूको ठूलो सहभागिता रहेको थियो। ओलीले जनताको विश्वास कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे।