वीरगन्ज महानगरपालिकाले घण्टाघर नजिकै रहेको विपी उद्यानको अतिक्रमण गरी लगाएका तरकारी, फलफुल, खाजा-नास्ता र अन्य पसल तथा टहरा ७ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
वीरगन्ज महानगरपालिकाले २०७३ सालको फागुन ८ गते विपी उद्यानको जग्गा खाली गराएको थियो, तर त्यसपछि व्यपारीहरूले फेरि उक्त जग्गामा अतिक्रमण गर्दै टहरा बनाएर पसल सञ्चालन गरेका छन्। विपी उद्यानको झण्डै १० बिघा जग्गामा सयौं टहरा बनाएर तरकारी, खाजा-नास्ता र घरेलु मदिरा बिक्री गर्ने पसलहरू सञ्चालन भएका छन्।
थोक तरकारी मण्डीका दर्जनौं पसल र होटलबाट निस्कने फोहोरको उचित व्यवस्थापन नभएर कुहिएर महिनौंसम्म सड्ने समस्याले बजार छेउ हिड्ने यात्रुहरूलाई असहज बनाएको छ। कुहिएका फोहोरबाट उठ्ने दुर्गन्धले शहरको सौन्दर्यलाई नै प्रभावित पारेको छ।
वीरगन्ज महानगरपालिकाले पुस १२ गते जारी गरेको सूचनामा १५ दिन भित्र विपी उद्यानबाट सञ्चालन भएका सबै पसल खाली गर्न आदेश दिइएको थियो, तर त्यसको हदम्याद सकिसक्दा पनि पसलहरू हटाइएको छैन। अब पुस १२ को सूचनामा ७ दिनभित्र अनिवार्य रूपमा बजार खाली गर्न उर्दी जारी गरिएको छ।
महानगरपालिकाले सूचनामा उल्लेख गर्दै अटेरी गर्ने पसलधनी र व्यपारीले बजार खाली गर्न तथा गराउन लाग्ने खर्च व्यहोर्नुपर्ने चेतावनी दिएको छ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ कि, विपी उद्यानमा सञ्चालनमा रहेका तरकारी, फलफुल लगायतका पसलहरू वीरगन्ज-१६, नगवा स्थित कृषि बजारमा स्थानान्तरण गर्न आग्रह गरिएको छ।