अधिकृत परीक्षाको सामूहिक छलफल कार्यक्रममा मर्यादा, सदाचार र नैतिकताको विषयमा राउण्ड टेबलमा छलफल गर्नु थियो । छलफलको शीर्षक दिईसकेपछि साथीहरुबीचमा कसरी बोल्ने भन्ने मोटामोटी सहमती अनुसार मैले विषय उठान गर्ने, अर्काे साथीले यसको औचित्य, महत्व र आवश्यकता औल्याउँने, तेस्रोले पछिल्लो समय यी वैयक्तिक गुणमा देखिएको ह्रासको कारण औल्याउँने र अन्तिममा मैले नै तिनको सारसहित यस विषयलाई सार्वजनिक प्रशासनको प्रभावकारीतासँग जोड्दै निष्कर्ष दिने सहमती भयो । मैले आफ्नै पारामा परिभाषा दिए । मर्यादा, सदाचार र नैतिकता तीन शब्द अलग–अलग रुपमा व्युत्पत्ति भएता पनि तिनको एकिकृत अर्थ वा पर्यायको रुपमा स्वअनुशासन, इमान्दारिता र निष्ठालाई लिन सकिन्छ । जो वैयक्तिक, आत्मिक गुण हुन् । मर्यादा,आचरण र नैतिकता त्यस्ता अन्तरनिहित गुण हुन् । जसले मानव हुनुको औचित्यलाई पुष्टि गर्छ । सामाजिक प्राणीको श्रेष्ठतालाई दर्शाउँछ । मानवलाई एउटा सभ्य र अनुशासित जीवनतर्फ डोर्याउँछ ।ु
मैले यति भनेपछि अर्काे साथीले यसको आवश्यकतालाई परिभाषाकै सेरोफेरोमा रहेर जोडे । हरक्षेत्रमा यसको आवश्यकता र महत्व औल्याए । त्यही बीचमा साथीले एउटा गाडी चालक मर्यादामा नरहँदा दिनहुँ सडक दुर्घटना भैरहेका छन् भन्ने प्रसंग पनि जोडे । यसै प्रसंगमा मूल्यांकनकर्ताले प्रश्न गर्ने हाउभाउ देखाए । सामूहिक छलफलमा हामी आफै जिज्ञाशु भएको देखाउनु थियो । मूल्यांकनकर्ताबाट प्रश्न आउनुुअघि साथीलाई बीचमै रोकेर सोधेँ, सडक दुुर्घटनाको मुख्य कारण कच्ची र साघँुरो सडक भनिन्छ । प्राविधिक परीक्षण नभएका पुराना गाडीको कारण ब्रेक फेलको कारण र सवारी चालक अनुमतिपत्र नलिएका सिकारु चालकले चलाएको कारण पनि भनिन्छ । सदाचार र नैतिकताको कसीमा दुर्घटनाको सबाललाई थप प्रस्ट पार्नुुहुन्छ कि, सर, मैले यसो भनिरहँदा मूल्यांकनकर्ताको टाउको हल्लियो । ती साथीले पनि थप प्रस्ट पार्ने मौका पाए ।
मादक पदार्थको सेवन गरेर गाडी चलाउनुु, क्षमता भन्दा बढी यात्रुु वा सरसामान राख्नुु, स्पिड लिमिट र ट्राफिक सिग्नलको पालना नगर्नु जस्ता उदाहरणलाई मर्यादा र नैतिकतासँग जोडे । त्यसपछि तेस्रो साथीले आजभोली यी मानवीय गुण र आचरणमा देखिएको ह्रास, भ्रष्टाचार र अनियमितता बढेको प्रसंगलाई उधिन्ने प्रयास गरे । अन्तिममा मैले निष्कर्ष दिए । पुर्ववत् साथीले भनेझैँ जसरी गाडीको चालकले सामान्य नियमको पालना नगर्दा, आफ्नो मर्यादा र नैतिकतामा नरहँदा सडक दुर्घटना हुन गई ठूलो धनजनको क्षति हुने संभावना रहन्छ । त्यसैगरी सार्वजनिक प्रशासनको गाडी हाँक्ने उद्धेश्य लिएका तपाईँ हामी इमान्दर नहुने अनि देशको राजनीतिको रथ हाँक्ने राजनीतिज्ञहरु मर्यादित र निष्ठावान् नहुने हो भने देशरुपी गाडी कता जाला ? यसलाई प्रश्नकै रुपमा राखौँ । हामी सकरात्मक सोचौँ । भनिन्छ नि, फूलको आखाँमा फूलै संसार । हामी आफू आफ्नो क्षेत्रमा इमान्दार, कर्तव्यनिष्ठ, मर्यादित र अनुुशासित भएर अघि बढ्ने प्रण गर्दछौँ । यति भनेर मेरा हत्केला अघि बडे । सबैका हत्केला एकै ठाउँमा आएपछि त्यहाँ मूल्यांकनकर्ताले आफूलाई ताली बजाउनबाट रोक्न सकेनन् । यसरी हाम्रो सामूहिक छलफल टुुंगिएको थियो ।
लिखित परीक्षा, सीप परिक्षण, सामूहिक छलफल, अन्तर्वार्ता लगायतका सबै चरणहरु सोचेअनुरुप नै भएको हुँदा अधिकृतको नतिजा आउँदा मेरिट लिस्टमा राम्रै स्थानमा परेँ । सिफारिस भईयो र नियुक्ति पनि लिइयो । नियुक्ति लिने बेला कर्तव्यनिष्ठ भई इमान्दारीसाथ देश र जनताको सेवा गर्छु भनेर सपथ पनि खाइयो । तर सेवा भित्र छिरिसकेपछि आजका दिनसम्म आइपुुग्दा हिजोको प्रतिबद्धता र सपथको परिपालनमा बडो सकस परिरहेको छ । त्यो हिजोको हुटुहुटी, जाँगर र प्रतिबद्धता कता हो कता क्षिण भएजस्तो लाग्छ । यसो हुनुको मूल कारण सेवाको सुरक्षा, सुविधा र शर्तहरुको अस्पष्टता, वृत्तिपथको अन्योलता, कर्मचारीभित्रै विभेदको अवस्था, अनुपयुुक्त कार्य वातावरण, स्थानीय तहमा राजनीति र प्रशासन बीचको अविश्वास र द्धन्द प्रधान रुपमा अघि आउँछन् । जागिर खाएको वर्षाैँ पछि आएको सेवा ऐनले पनि वृत्ति विकासको उचित सम्बोधन नगर्दा झनै वितृष्णा बढ्ने अवस्था छ । अन्तरप्रदेश सरुवा नहुँदा स्थानीय तहमा नियुक्त भएका कर्मचारी अमूक प्रदेशभित्रै खुम्चिएर रहनुपर्ने बाध्यता एकातिर छ । भने सेवाभित्र तिकडमबाजी, छक्कापन्जा, लोलोपोतो, हजुरिया र पोल ओहोरदोहोर गर्नेहरु क्षमतावान, योग्य र पुरस्कृत ठहरिने अवस्थामा नीति, विधि, कानुन र नैतिकतालाई अक्षरसः पालना गर्नेहरु छायाँमा पर्ने अवस्था छ ।
कर्म गर, फलको आशा नगर, भनेझैँ जतिसुकै प्रतिकूल अवस्था भएपनि कर्मचारीहरु आफ्नो निष्ठा,आदर्श र मर्यादामा विचलित हुनु हुँदैन । कर्मचारीहरु आफ्नो निष्ठामा रहेर उच्च नैतिक चरित्र प्रदर्शन गर्दै निष्पक्ष र तटस्थ कार्यशैली अवलम्बन गर्न नसक्दा र कुनै अमूक राजनीतिक दललाई फेबर गर्दा स्थानीय तहमा समस्या आइरहेको छ । एउटा राष्ट्रसेवक कर्मचारीमा हुनुपर्ने मर्यादा, सदाचार र नैतिकता जस्ता अन्तरनिहित गुणहरु स्थानीय तहमा कार्यरत कर्मचारीले अझ बढी प्रदर्शन गर्नुपर्ने देखिन्छ । आफू आफ्नो आदर्शबाट विचलित नहुने हो भने प्रशासनिक मात्रै होइन । राजनीतिक नेतृत्वले समेत औँला उठाउन सक्दैन । इलेक्टेड बडी मानिने कर्मचारीहरुद्धारा स्थानीय तहका इलेक्टेड बडीहरुको बीचमा छिरेर पोल ओहोरदोहोर गर्ने, आपसमा विवाद सिर्जना गराइदिने र धमिलो पानीमा माछा मार्नेजस्ता विकृत क्रियाकलापहरु देखिएका छन् । यसो गर्नु कर्मचारीको व्यवसायिक चरित्र होइन । यसले कर्मचारीतन्त्रको गरिमालाई रसातलमा पुर्याउँछ ।
आफ्नो सेवाको गरिमा बढ्ने कार्यहरुमा खोज, अन्वेषण, प्रोत्साहन गर्दै नयाँ सोच र सुधारको दृष्टिले काम गर्ने, राजनीतिज्ञलाई तटस्थ र विज्ञ परामर्श दिने, गलतलाई ुनोु भन्न सक्ने, उच्च नैतिक, पूर्ण व्यावशायिक, निष्कलंक, सौहार्द, शालीन, सुशासनका लागि दिलो ज्यान दिन सक्ने कर्मचारी राज्यको अपेक्षा हो । राम्रा काम गर्ने कर्मचारीलाई प्रोत्साहित र संरक्षण गर्ने, गर्ने हाकिम पो हाकिम प्रशासक, हाकिम, नेतृत्व त यस्तो होस् श्रद्धाले शीर निहुरियोस् । नैतिकता, इमान्दारिता, विद्धता, सकरात्मकता, साहसिकता, समस्या समाधान सीप, वार्ता कला, निर्णय क्षमता अनुकरणीय होस्, अनुशरणीय होस् । प्रशासक होस् वा तल्लो तहका कर्मचारी, सम्पूर्ण कर्मचारीहरु सेवामा पूर्ण समर्पित भई राजनीतिसँग समदुरी र तटस्थता कायम राख्दै अनियमितता र भ्रष्टचारजन्य गतिविधिबाट टाढा रहि असल जीवनदर्शन अंगिकारद्धारा अनुशासन, इमान्दारिता, पेशागत मर्यादा र व्यवसायिकतालाई जीवन्त राख्दै देश र जनताको सेवा गर्नुु अहिलेको आवश्यकता हो ।