मधेस प्रदेश क्रिकेट संघले जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। शनिबार सार्वजनिक टोलीमा हरिशंकर साह कप्तान र अभिषेक तिवारी उपकप्तान छन्।
घोषित टोलीमा अन्य खेलाडीहरूमा अरनिको यादव, मयन यादव, विशाल सुश्लीङ, साहिल पटेल, रुपेश सिंह, राजेश यादव, भुलवन सहनी, विशाल पटेल, हिमान्शु दत्त, प्रदीप पासवान, अफ्रुदीन राइन, रञ्जित कुमार, रोहन विश्वकर्मा, राहुल मण्डल, सैलेन्द्र साह, नीरजकुमार यादव, राज पटेल, सफवन अली, पार्थीव यादव र कमल गुप्ता रहेका छन्।
चोटका कारण अनिल साह र पवन सर्राफ टोलीबाहिर
मधेस प्रदेशलाई प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका अनिल साह र पवन सर्राफले चोटका कारण जय ट्रफी गुमाउने भएका छन्। एनपीएल दौरान अनिलको औँलामा चोट लागेको छ भने पवन सर्राफ घुँडाको चोटबाट स्वास्थ्यलाभ गरिरहेका छन्।
एनपीएलमा सहभागी खेलाडीहरू
मधेसको टोलीमा एनपीएल फ्रेन्चाइज लिगमा खेलेका खेलाडीहरू समावेश छन्। अरनिको यादव र मयन यादव एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका थिए। जनकपुर टिमका सदस्य रुपेश सिंह चोटका कारण कुनै खेल खेल्न नसके पनि मयन यादवले केही खेल खेले। विशाल सुश्लीङ र रञ्जित कुमार पनि टोलीमा छन्। रञ्जितले चितवन राइनोजबाट खेलेका थिए भने हरिशंकर साह पोखरा एभेन्जर्सको सदस्य थिए।
प्रतियोगिताको कार्यक्रम
जय ट्रफी एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म वीरगञ्जको नारायणी रंगशाला र जनकपुरमा हुनेछ। रेड बल र ह्वाइट जर्सी प्रयोग हुने यो प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
सिंगल राउन्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। लिग चरणका खेल दुई दिवसीय हुनेछन् भने फाइनल खेल तीन दिवसीय हुनेछ।