राष्ट्रका लागि गम्भीर समस्या भनेकै बेरोजगारी समस्या हो । विकासोन्मुख रास्ट्रलाई पनि बेरोजगारी समस्याले पिरोलिरहेको हुन्छ । गरिबी बेरोजगारीको कारण हुन्छ भने बेरोजगारी गरिबीको कारण उत्पन्न हुने गर्दछ । बेरोजगारीको समस्याले मुलुक आक्रान्त छ । यहीँ समस्याको कारण आज वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर बाहिरिनेको संख्या अत्याधिक छ । यो घाम झैं छर्लङ्ग छ ।
संबिधानमा कानूनी अधिकार :
नेपालको संविधान, २०७२ को धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक, धारा ३४ ले प्रत्येक व्यक्तिलाई उचित श्रम अभ्यास गर्न पाउने हक तथा धारा ४३ ले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । त्यस्तै राज्यका निर्देशक सिद्धान्त तथा नीति अन्तर्गत धारा ५१ (राज्यका नीतिहरू) को (झ) मा सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक आर्थिक शक्तिको रूपमा रहेको श्रम शक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, श्रमिक र उद्यमी व्यवसायी बीच सुसम्बन्ध कायम गर्ने, वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था रहेको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मा बेरोजगार व्यक्तिलाई न्यूनतम् एक सय दिनको रोजगारीको व्यवस्था गरिएको छ । तर यी कानुनी व्यावस्था व्याबहारिक रूपमा कति लागू भए वा भएनन् भन्ने कुराको कुनै ठोस तथ्यांक भने छैन न पहली कदम नै !
वैदेशिक रोजगारीको अवस्था :
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालीम, गोष्ठी आदि कामका लागि सन् २०२३ मा मात्रै १६ लाख तीन हजार ८३६ नेपाली विदेश पुगेका छन् ! बिदेशीनु पर्ने बाध्यता आफैमा दुखद कुरा हो भने विदेश गएकामध्ये करीब ७१ हजारले स्थायी रूपमै विदेश बस्ने गरी सधैंका लागि देश छोडेको अध्यागमन विभागले जनाएको छ। त्यसै गरी ९२ हजार ३४९ जना अस्थायी रूपमा विदेश बसोबासका लागि गएको खबरले झनै अत्यार लाग्दो अवस्थाको सृजना गरेको छ ! तथ्यांक अनुसार नेपालबाट बाहिरिएका नेपालीमध्ये आधाभन्दा धेरै वैदेशिक रोजगारीका लागि गएका छन्। वैदेशिक कामकाजका लागि आठ लाख आठ हजार ४१५ नेपाली संसारका विभिन्न मुलुक पुगेका छन्। यीमध्ये ८४ हजार ६०४ जना महिला छन्।
त्यसै गरी भ्रमण÷तीर्थाटनका लागि दुई लाख चार हजार ५१८ जना विदेश पुगेका छन्। पारिवारिक मिलापका लागि एक लाख ६७ हजार, अध्ययनका लागि एक लाख आठ हजार, तालीम÷सेमिनारका लागि २४ हजार नेपाली विदेश पुगेको देखिन्च ! बिदेश जाने आउने क्रम सदियौदेखी चली आएको भएता पनि पछिल्लो समयको तथ्यांकले भबिस्यमा ठूलो अफ्ट्यारो परिस्थितिको सृजना भने निम्त्याएको छ ।
वर्तमान अवस्था
नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ । पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत । यसैगरी सहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ । बेरोजगारी दरलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा २०.१ प्रतिशत र सबैभन्दा कम बाग्मती प्रदेशमा ७ प्रतिशत मात्र छ । नेपालको श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत छ । यो दर शहरमा ४१.७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२.९ प्रतिशत छ । यसैगरी पुरुष र महिलाको श्रम शक्तिमा सहभागिता दर क्रमशः ५३.८ प्रतिशत र २६.३ प्रतिशत छ । प्रदेश अनुसार श्रम शक्तिमा सहभागिता दर सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७.१ प्रतिशत छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७.३ प्रतिशत छ ।
रोजगारीमा ३४.२ प्रतिशत जनसंख्या छ । रोजगारीमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम २४.१ प्रतिशत सुदुरपश्चिम प्रदेशमा रहेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४ अनुसार ६२.२ प्रतिशत व्यक्तिहरू अनौपचारिक तथा असंगठित क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी तथा श्रमिकको रुपमा कामकाज गरी जीवन निर्वाह गर्ने गरेको देखिन्छ । यो भनेको अबको दिनमा बेरोजगार प्रतिशत अझ बडेर आउने र नेपाल श्रमशक्ति बिहिन हुदैछ भन्ने संकेत हो ! रोजगारीका अवस्था सृजना गर्ने कार्य न्युन भएकै कारण युवाहरु बिदेशीन बाध्य छन् !
सन् २०२२ मा विश्वव्यापी रुपमा बेरोजगारी दर ५.९ प्रतिशत रहने अनुमान गरिएको थियो भने दक्षिण एसियाको ५.६ प्रतिशत रहने अनुमान थियो । त्यस्तै विश्वको श्रमशक्ति सहभागिता दर ५९.३ प्रतिशत रहने भन्ने थियो । दक्षिण एसियाको ४८.१ प्रतिशत । विश्व श्रम बजारमा रोजगारीमा रहेको जनसंख्या ५५.८ प्रतिशत छ भने दक्षिण एसियाको बजारमा रोजगारीमा रहेको जनसंख्या ४५.४ प्रतिशत छ । अघिल्लो वर्ष यही समयमा यो अंक ७३ प्रतिशतले घटेको थियो । हाल वैदेशिक रोजगारीमा जान अन्तिम स्वीकृत लिनेको संख्या साविकभन्दा १०२ दशमलव ५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ जना पुगेको छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या झण्डै ४६४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको देखिन्छ । जबकि अघिल्लो यो समयावधिमा जम्मा २४९ दशमलव १ प्रतिशतले मात्र बढेको थियो । यसबाट नेपालीहरूलाई स्वदेशमा टिकाई राख्ने वातावरण नभएको स्पष्ट हुन्छ ।
यस अवस्थामा आयात कटाएर विदेशी मुद्रा बढाएँ भन्नु र मानिस निकासी गरेर विप्रेषण बढाएँ भन्नु दुवै कुरो क्षणिक प्रफुल्लता मात्र हुन् । उत्पादन बढाई वस्तु निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने हो, आन्तरिक आपूर्तिका लागि स्वदेशी उत्पादन बढाउने हो, कृषि क्षेत्रलाई गतिशील बनाउने हो, नाना, छाना, खानाका लागि परमुखापेक्षी हुने होइन । देशैभरि उद्योगधन्दाहरू खोलेर यहाँ रोजगारी दिने हो, ब्यापार घाटा घटाउने हो ।
बेरोजगारी न्यूनीकरण ः
उपलब्ध श्रमशक्तिलाई समय–समयमा निरन्तर रूपले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सीप र प्रविधियुक्त तालिमको व्यवस्था खाडी तथा अन्य मुलुकमा रहेको श्रमशक्तिसँगको सीप र दक्षताअनुसारको व्यावसायिक गतिविधि स्वदेशमै सञ्चालन गरी विदेशमा रहेको श्रमशक्तिको उपयोगिताबाट थप नयाँ रोजगारीको अवसर तीव्र औद्योगीकरण गर्नका लागि ठूलो मात्रामा श्रमशक्तिको जरुरी पर्ने भएकोले बेरोजगारी समस्या समाधान मद्दत पुग्नेछ प्रविधिभन्दा मानवीय श्रमको प्रयोगबाट उत्पादन एवम् सेवा प्रवाहमा जोड दिन सक्यो भने बेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेछ । रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून ब्याजदरमा ऋण सेवा, न्यून कर तथा ग्रामीण र दुर्गम क्षेत्रमा कारोबार सञ्चालन गर्नेलाई विशेष प्राथमिकता र सहायताको नीति लिएरसमेत बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ ।