वीरगन्जस्थित कृषि औजार कारखाना वि.स. २०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी संचालनमा आएको थियो । वि.स.२०४६ सालको जन आन्दोलनको परिवर्तनपछि कृषि औजार कारखाना रुग्ण अवस्थामा पुग्दै वि.स २०५९ सालमा बन्द भएको थियो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले लामो समयदेखि बन्द भइ खण्डहरमा परिणत भएको कृषि औजार कारखानालाई पुनः संचालनमा ल्याउन ०७९ सालको माघ १ गते नेपाल सरकारसँग सम्झौता गरे । नेपाल सरकारले वाचा गरे अनुसार कारखाना संचालन गर्न २० करोड रुपैयाँ दिने सम्झौता भएको थियो ।
सरकारले गरेको वाचा पुरा नगरेपछि केन्द्रका संचालक वैज्ञानिक पुन आफ्नै बलबुता र लगानीमा राष्ट्रिय आविष्कार केन्द्रले काम गर्दै आएको बताए । कारखाना संचालन सुरु गरेदेखि हालसम्म राष्ट्रिय आविस्कार केन्द्रले ३ करोड रुपैयाँ लगानी गरिसकेको छ । ’कारखाना सञ्चालनका लागि २५ करोड रुपैयाँ आवश्यक भएको लागत अनुमान तयार पारिएको थियो ।सरकारले त्यो रकम उपलब्ध गराउन चासो नदेखाए पछि राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आत्मकथाको किताब बेचेर कारखाना चलाउने निर्णय गरी अभियानमा जुटेका छन् । २२ वर्षदेखि बन्द भएको कृषि औजार कारखानालाई संचालनमा ल्याउन आविस्कार केन्द्र प्रयासरत छ । महाविर पुनका आत्मकथाको किताब बेचेर कारखाना संचालन गर्न तल्लिन टोली अहोरात्र काम गरिरहेका छन् । अहिले नेपालको पूर्वी मेचीदेखि पश्चिम महाकालीसम्म महावीर पुनको आत्मकथा लेखिएको किताब बेच्ने अभियान चलाएका छन् । किताब बिक्री गरेर करिब १० करोड रुपैयाँ संकलन गरिसकेको पनि खुलेको छ ।
कारखानामा हाल २५ जना जनशक्ति कार्यरत छन् । तीमध्ये ७ मेकानिकल÷इन्डस्ट्रियल÷इलेक्ट्रिकल इन्जिनियर, १ मेकानिकल ओभरसियर र बाँकी फेब्रिकेटर टेक्निसियन रहेको कारखानाले जनाएको छ । ५÷५ जनाको समूह बनाएर बिहानदेखि बेलुका ८ बजेसम्म निरन्तर काम भइरहेको पनि कारखानाले जनाएको छ । राष्ट्रिय आविस्कार केन्द्रमा काम गर्ने सबैले देशको लागि केही गरौं भन्ने सोचले सकृय भएर काम गरिरहेको बताए । त्यहाँ काम गर्ने कसैलाई पनि तलब दिएको छैन । केही खर्चको लागि मात्र रकम उपलब्ध गराइदै आएको ईन्जिनियर देवले बताए । तर सबै जना उत्सुक भएर समाज सेवाका लागि काम गरिरहेको पनि इन्जिनियर देवको भनाइ छ ।
वैज्ञानिक पुनको आह्वानमा श्रमदान गर्न नेपाल कमर्श आर्टिष्ट संघ, केन्द्रिय कार्यालय काठमाण्डौंबाट बारा, पर्सा, रौतहट, मकावानपुर, पश्चिम कञ्चनपुर लगायत विभिन्न स्थानबाट पनि आएर श्रमदान गरेर रंगरोगनको काममा सहयोग गरेको इन्जिनियर देवले बताए । वीरगंज महानगरभित्र रहेको कृषि औजार कारखाना बन्द अवस्थामा रहेको बखत पनि राष्ट्रिय आविस्कार केन्द्रका संचालक वैज्ञानिक महावीर प्रसाद पुनले कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्य सहित अगाडी बढ्नु सामान्य कुरा नभएको नेपाल कमर्श आर्टिस्ट संघ, पर्साका सल्लाहकार देव कुमार श्रेष्ठले बताए । राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालनको जिम्मेवारी लिएको करिब २ वर्षमा कृषि औजार कारखाना ९० प्रतिशत चल्ने अवस्थामा पुगिसकेको आविष्कार केन्द्रका ईन्जिनियर रितेश देवले बताए ।
अहिले कारखानामा मर्मत सम्भारको काम लगभग सकिएको छ । बाँकी रहेको ’वायरिङ’को काम केही महिनामा पूरा हुने उनको भनाइ छ । ६० वर्ष पुराना मेसिन मर्मतसम्भार गरेर उत्पादनको परीक्षणकालमा समेत पुगिसक्नुलाई आविस्कारको ठूलो उपलब्धि रहेको इन्जिनियर देवले बताए । करिब ५ महिना अगाडीदेखि कारखाना उत्पादन प्रक्रियामा गइसकेको उनको भनाइ छ । परीक्षणकालको अवधिमा पनि केन्द्रले करिब २० हजारको सामान पनि बेचिसकेको उनले बताए । केन्द्रले अहिले बजारीकरणमा कुनै ठोस योजना नबनाएको सबै भन्दा बढी उत्पादन तर्फ नै जोड दिएको उनको भनाइ छ । हामी पहिलो चरणमा आफैं केन्द्रबाट सामान बिक्री गरिरहेका छौं । औजारहरु राम्रो परिमाणमा उत्पादन हुन थालेपछि त्यसको लेखाजोखा गरेर मात्र बजारमा कसरी जाने भन्नेबारे रणनीति बन्नाउने देवले बताए ।
आविस्कार केन्द्रले अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा बिक्री गरेर संकलन गरेको रकमबाट सीएनसी फाइबर लेजर सिट कटिङ मेसिन केही महिना अघि नै खरिद गरी सकेका छन् । ५० लाख मूल्यको सीएनसी फाइबर लेजर सिट कटिङ मेसिनले ‘कृषि औजार उत्पादन गर्न आवश्यक पर्ने फलामे पाताहरूलाई सहजै काट्न सक्छ । कारखानाका लागि अत्यावश्यक कृषि औजारहरू अब सहजै कटिङ गरी उत्पादन गर्न सकिने उनको भनाइ छ । कृषि औजार कारखानामा अहिले मर्मत सम्भारको कार्यसँगै परीक्षणकालका लागि केही मेसिन तथा औजारहरूसमेत उत्पादन भइसकेकोे छ । कारखानाले किसानका लागि १४ प्रकारको मेसिन तथा औजार परीक्षणकालका लागि उत्पादन गरेर बजारमा ल्याइसकेको छ ।कारखानाभित्र रहेका झण्डै ८० वर्ष पुराना मेसिनले कुटो, कोदालो, कैंची, बेल्चा, साबेललगायतका १४ प्रकारका औजारहरूको परीक्षण गरी उत्पादन गरेको देवले बताए ।
आविस्कार केन्द्रका अनुसार कारखानाले केराको फाइबर निकाल्ने , गोबर पेल्ने , धान काट्ने, धान रोप्ने, धान झार्ने, आलु गोड्ने÷रोप्ने मेसिन, कल्टीभेटर, थ्रेसर, कोदो काट्ने थ्रेसर, बिरुवा रोप्ने औजारसहितका मेसिनहरू परीक्षणकालका लागि उत्पादन गरिसकेको छ । ठूला मेसिनहरू उत्पादनको तयारीमा जुटेको राष्ट्रिय आविष्कार केन्द्रले जानकारी दिएको छ । बजेटको अभावले आधुनिक मेसिनहरू खरिद गर्न नसकेका केन्द्रका प्रमुख देवले गुनासो गरे ।
चिन र भारतलाई आफ्नो बजार बनाउने गरी गुणस्तरीय सामान उत्पादन गर्ने लक्ष्य रहेको केन्द्रका प्रमुख देवले बताए । विद्युतको अघोषित लोडसेडिङले पनि काम गर्न समस्या बनाएको छ । औजार बनाउन आवश्यक कच्चा पदार्थको सहज उपलब्ध हुँदा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिने उनले बताए । भन्सार लागत कम हुनासाथ आफूहरूले भारतीय उत्पादनलाई सहजै विस्थापित गर्न सक्ने उनको भनाइ छ । महावीर पुनलाई कृषि औजार कारखाना सञ्चालनका लागि मधेश प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा कृषि औजार कारखानाका लागि ५० लाख रकम छुट्टयाएको छ ।
प्रदेशमा राम्रो काम भइरहेकाले आविस्कार केन्द्रलाई सहयोग गरेका मुख्यमन्त्री सतिस सिंहको भनाइ छ । आविष्कार केन्द्रका प्रमुख पुनले ल्याबको सहयोग मागेपछि प्रदेश सरकारले ल्याबसमेत उपलब्ध गराउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कारखाना सञ्चालनका लागि रकम जुटाउन विभिन्न जिल्लामा आफ्नो पुस्तक बिक्री गर्ने अभियानमा जुटेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ १७:१३