मधेश प्रदेश सरकारअन्तर्गत जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेदेखि चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन शुरु हुने भएको छ। यससँगै मधेश प्रदेशमा सरकारीस्तरबाट एमबिबिएस पठनपाठन गर्ने यो पहिलो शैक्षिक संस्था बनेको छ।
प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले एमबिबिएस कार्यक्रमको प्रारम्भ गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, उपकरण र ल्याब सञ्चालनको तयारी पूरा गरिएको जानकारी दिए। साथमा, चिकित्साशिक्षा आयोगले छात्रवृत्तिका लागि सिफारिस गरेका ५० विद्यार्थीको भर्ना प्रक्रिया पनि सम्पन्न भइसकेको छ।
प्रतिष्ठानले यसअघि स्नातक तहमा नर्सिङ, पब्लिक हेल्थ, र मेडिकल ल्याब टेक्नोलोजी, तथा स्नातकोत्तर तहमा चारवटा विषयमा पठनपाठन गर्दै आएको थियो। यसअघि स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले प्रादेशिक अस्पताल जनकपुरको स्तरोन्नति गर्दै एमबिबिएस कार्यक्रमको लागि स्रोतको व्यवस्था गरिएको थियो।
एमबिबिएस पठनपाठनको लागि प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षाकोठा र छात्रावासको व्यवस्था गरिएको छ। साथै, एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथालोजी, फर्माकोलोजी, र क्म्युनिटी मेडिसिन जस्ता प्रमुख विषयहरूमा अध्यापनका लागि दक्ष जनशक्तिको व्यवस्था गरिएको डा. साहले बताए।
प्रदेश सरकारको नेतृत्वमा चिकित्साशिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले एमबिबिएस पठनपाठन शुरु गर्नको लागि मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिबद्धता व्यक्त गरेका थिए। अब जनकपुरधामस्थित प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सुरु भएपछि चिकित्सा क्षेत्रको गुणस्तरमा वृद्धि, चिकित्सकहरूको वृत्तिविकासमा मद्दत, र जनकपुरधामको शैक्षिक छविमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।