वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको “जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” कार्यक्रम सम्पन्न भएपछिको रात धान बालीमा भएको आगजनीका कारण विवाद चर्किएको छ।
पुस ६ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हरिन्द्र प्रसाद यादवको जग्गामा कार्यक्रम सम्पन्न भएको थियो। तर, सोही रात करिब साढे तीन बिघा जमिनमा काटेर थुपारिएको करिब २१० क्विन्टल धानमा आगलागी भयो।
पीडित हरिन्द्र प्रसाद यादवले कार्यक्रम आयोजना गरिएकै कारण आफूलाई धम्की आएको र आगलागी खानेपानी मन्त्री प्रदीप यादव पक्षका व्यक्तिहरूको योजनामा भएको आरोप लगाएका छन्। उनका अनुसार, कार्यक्रमअघि नै प्रदीप यादव पक्षका व्यक्तिहरूले धम्की दिएका थिए। उनले भने, “मलाई धम्की दिनेहरूकै कारण आगलागी भएको हो भन्नेमा म ढुक्क छु।”
घटनाको छानबिनको माग
धान बालीमा आगजनी भएपछि जसपा नेपाल पर्साले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ। जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको नेतृत्वमा गएको टोलीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ।
सिडिओ अर्यालले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गरिने र पीडितलाई न्याय दिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि, जसपा नेपालले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै धान बालीमा आगलागी गराउनेलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेको थियो। प्रदर्शनमा जसपा नेपालका नेता, कार्यकर्ता, र स्थानीयको सहभागिता रहेको थियो।
आरोप र प्रत्यारोप
जसपा नेपालले आगलागीमा खानेपानी मन्त्री प्रदीप यादव पक्षका व्यक्तिहरूको संलग्नता रहेको दाबी गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले यो आरोपलाई खण्डन गरेको छ।
जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वर चन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनामा मन्त्री प्रदीप यादवको नाम जोडेर षड्यन्त्र गरिएको आरोप लगाएका छन्। उनले रामनरेश यादवको अभिव्यक्ति तथ्यहीन र मनगढन्ते भएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गरे।
जसपाको भनाइमा धान बालीमा भएको आगलागीको घटनालाई तोडमोड गरी जसपा नेपालले पार्टी र मन्त्री प्रदीप यादवविरुद्ध बदनाम गर्ने प्रयास गरेको छ।