बारा जिल्ला निवासी दिपक साह कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को १५औं महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका छन्। डाइनामिक टेक्नोसोफ्ट प्रालिका प्रबन्ध निर्देशक साह सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन्।
सूचना प्रविधि क्षेत्रमा साढे एक दशकभन्दा लामो अनुभव बोकेका साहको महासङ्घको सचिव पदमा निर्वाचित हुनु मधेस प्रदेशको लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ। साहले आफ्नो कार्यकालमा वीरगञ्जको सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
साहले महासङ्घलाई अझ संस्थागत बनाउन र स्थानीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म यसको प्रभावकारिता वृद्धि गर्न विशेष पहल गर्ने प्रतिक्रिया दिएका छन्। उनले वीरगञ्जलाई सूचना प्रविधि नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्न नयाँ योजना अघि सार्ने बताएका छन्। स्थानीय युवालाई सूचना प्रविधिमा लाग्न प्रेरित गर्न र नयाँ अवसर सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजनामा छन्।
यसअघि, साह क्यान महासङ्घ पर्साको अध्यक्ष र मधेस प्रदेशको समितिको महत्त्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका छन्।
क्यान महासङ्घमा नयाँ नेतृत्व
क्यान महासङ्घको इतिहासमा पहिलो महिला अध्यक्ष सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक पनि हुन्। महासङ्घको उपाध्यक्षमा हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन्। महासचिवमा चन्द्रविलास भुर्तेल र कोषाध्यक्षमा विक्रमसिंह चयन भएका छन्।
सचिवहरूमा दिपक साहसहित सरिता न्यौपाने, अग्मा मालाकार, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयास गरिने बताइन्। उनले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन नीतिगत सुधारको आवश्यकता रहेको उल्लेख गरिन्।
सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना प्रविधि विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ। हरेक वर्ष आयोजना हुने ‘क्यान इन्फोटेक’ प्रदर्शनी यस क्षेत्रको प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ।