लोकप्रिय लोक रक ब्याण्ड नेपथ्य अब केवल सुनिने मात्र हैन, पढिने सामग्रीका रूपमा पनि आउँदैछ। स्थापनाको साढे तीन दशकपछि, नेपथ्यको जीवनीमा आधारित पुस्तकको अग्रिम बुकिङ योजना सन् २०२५ को प्रारम्भकै दिन, बुधबारदेखि खुला हुँदैछ।
ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले पुस्तकको बारेमा भन्नुहुन्छ, “हामीले आजसम्म अनेक जिज्ञासाको जवाफ दिंदै आएका छौं, आजसम्म नसोधिएका थुप्रै प्रश्नको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ।”
पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव, र गीतको खोजीमा गरिएका संघर्षका अनुभवहरू समेटिएका छन्। संगीतबाट आर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रयासहरूको पनि जानकारी यस पुस्तकमा पाइन्छ। यस पुस्तकमा ब्याण्डका उज्याला पक्ष मात्र नभई अँध्यारा पाटा र सिकाइलाई पनि प्रस्तुत गरिएको छ।
ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन्। लेखक गिरीको अनुवादमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन्। साथै उनी ‘वीरगञ्ज : मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन्।
गिरीले यस पुस्तकको बारेमा भने, “विद्यार्थी कालमा ब्याण्डको प्रशंसक, त्यसपछि कला पत्रकार हुँदै कालक्रममा नेपथ्यको नजिक बस्ने अवसरले मलाई ब्याण्डका धेरै पाटोबारे परिचित हुने मौका दियो। मैले थाहा पाएका कुरामा थप खोजी र अध्ययन मिसाएर नेपथ्य पुस्तक तयार पारेको छु।”
पुस्तकले नेपथ्य ब्याण्डको अन्तरंग कथा मात्र नभइ, नेपाली संगीतको एक कालखण्ड–कलाखण्ड अध्ययन गर्न चाहने पाठकका लागि उपयोगी खुराक दिने अपेक्षा गरिएको छ।
सन् २०२२ मा नेपथ्यले महिना दिन लामो देशव्यापी सांगीतिक यात्रा गरेको थियो। पुस्तकले पाठकलाई ब्याण्डसँगै सांगीतिक यात्रामा सहभागी गराउने जानकारी पनि प्रदान गर्ने छ। यो पुस्तक पब्लिकेसन नेपालयले प्रकाशित गरेको हो।
नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, “यो वर्ष नेपालय र नेपथ्य एकअर्कासँग मिलेर अघि बढेको २५ वर्ष मनाउने अवसर पनि जुरेको छ। नेपालयले नेपाली वाङमयसँग जोड्ने हिसाबले पब्लिकेसन नेपालयको थालनी गरेको २० वर्षको अवसरमा नेपथ्य पुस्तक सार्वजनिक गर्न पाउँदा उत्सवकै रूपमा लिएका छौं।”
पुस्तक सार्वजनिकसँगै, नेपथ्यको वेबसाइटबाट अग्रिम बुकिङका लागि १३ वटा फरक स्किम उपलब्ध गराइने जनाइएको छ। यस योजनामा सहभागी पाठकले २५ रुपैयाँ तिरेर पुस्तक हात पार्न सक्नेछन्। साथै, पुस्तक खरिद गर्नेले २,२५० रुपैयाँ पनि तिर्न सक्नेछन्। योजनामा सहभागी पाठकले घरमै बसेर पुस्तक सार्वजनिक हुने मिति अगावै आफ्नो प्रति प्राप्त गर्न सक्नेछन्।
नेपथ्यको जीवनीमा आधारित पुस्तक, ‘नेपथ्यः लोकप्रिय यात्राको अन्तरंग’ २०२५ को फेब्रुअरी महिनामा सार्वजनिक हुने जनाइएको छ। यो ३५२ पृष्ठको पुस्तकको मूल्य ८१५ रुपैयाँ हुनेछ।
यसैबीच, नेपथ्य ब्याण्डले आगामी मार्च महिनामा अस्ट्रेलिया टुर गर्ने तयारी गरिरहेको छ।