शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरी अंक दिने निर्णय गरेको छ।
शिक्षामन्त्री विद्या भट्टराईका अनुसार यसका लागि मूल्याङ्कन विधि तयार गर्ने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ। ‘विधि बनाउने काम पाठ्यक्रम विकास केन्द्रले गर्नेछ। विज्ञसँग छलफल गरी १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेका छौँ,’ मन्त्री भट्टराईले जानकारी दिइन्।
मन्त्रालयले परम्परागत मूल्याङ्कन पद्धतिलाई परिवर्तन गर्दै विद्यार्थीको घरमा गरेको श्रम र व्यवहारलाई पनि मूल्याङ्कनमा समेट्न लागेको हो। ‘मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्न आवश्यक छ। अहिलेसम्म कक्षा कोठामा कति लेख्छ भन्ने आधारमा मात्र मूल्याङ्कन गरिँदै आएको छ। यसलाई परिमार्जन गर्दै आन्तरिक मूल्याङ्कनलाई सुधार्ने निर्णय गरेका छौँ,’ मन्त्री भट्टराईले बताइन्।
विधिको तयारी गर्दा विज्ञहरूको राय सुझावका आधारमा काम गरिने उल्लेख गर्दै मन्त्री भट्टराईले पाठ्यक्रममा समाजका सकारात्मक पक्षहरू समावेश गर्ने योजना रहेको बताइन्।
२०८२ देखि लागू हुने
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले मूल्याङ्कन विधि छिट्टै तयार गरेर कार्यान्वयनमा लैजाने बताएका छन्। ‘शैक्षिक सत्र २०८२ देखि लागू गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने।
मन्त्रालयले श्रम र सिपलाई सम्मान गर्दै विद्यार्थीका व्यवहार र दैनिक गतिविधिलाई मूल्याङ्कनमा समावेश गर्ने निर्णय गरेको हो। ‘विद्यार्थीले किताबका कुरा मात्रै पढ्नुपर्छ भन्ने होइन। अब उनीहरूले घरमा गरेका काम, बुबा-आमालाई दिएको सहयोग, र समाजसँगको व्यवहारलाई पनि मूल्याङ्कनमा जोड्न लागेका हौँ,’ मन्त्री भट्टराईले भनिन्।
घरको कामलाई पनि अंक
विद्यार्थीले खेतबारी जोत्नेदेखि घाँस काट्ने, खाना पकाउने, भाइबहिनी हेर्ने, लुगा सिउने, बजारमा किनमेल गर्ने र आरनको काम गर्ने जस्ता जीवनोपयोगी सीपलाई मूल्याङ्कनमा समेटिनेछ।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुनेछ। कक्षा ९ देखि १२ सम्म २५ नम्बरको आन्तरिक र ७५ नम्बरको बाह्य परीक्षा हुनेछ। आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्याएर विद्यार्थीले घरमा गरेको कामको आधारमा नम्बर दिइनेछ।