स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना प्रवर्द्धन गर्न ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेको छ। यसका लागि ‘विद्यालय नर्स कार्यक्रम’ लागू भइरहेका विद्यालयहरूमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत राख्ने गरी स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरिएको छ।
कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य दूतका रूपमा विद्यालय नर्सलाई सहयोग गर्नेछन्। उनीहरूले स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी र सचेतनामूलक सामग्री फैलाउन भूमिका निर्वाह गर्नेछन्। साथै, नियमित खोप कार्यक्रम र अन्य सचेतनामूलक क्रियाकलापमा पनि उनीहरूको सहभागिता रहनेछ।
विद्यालय स्वास्थ्य दूतको जिम्मेवारी
स्वास्थ्य दूतलाई परिचयपत्र र ब्याचका साथै आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री प्रदान गरिनेछ। हाल यो कार्यक्रम देशभरका सातै प्रदेशका १,३८६ विद्यालयमा लागू भइरहेको छ।
विद्यालयमा स्वास्थ्य सुधारको प्रयास
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते रोगनिरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई पनि सहभागी गराउने योजना घोषणा गरेका थिए। सोही योजनालाई सहयोग पुर्याउन निर्देशिका परिमार्जन गरी स्वास्थ्य दूत थप्न लागिएको हो। मन्त्री पौडेलले भने, ‘बालबालिका तहबाटै स्वास्थ्य सुधार गर्न काम हुनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। यसले बालबालिका र उनीहरुमार्फत समुदायमा स्वास्थ्य सचेतना वृद्धि गर्ने अपेक्षा गरेका छौं।’
कार्यक्रमको कार्यान्वयन
५०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा गरी दुई जना स्वास्थ्य दूत नियुक्त गरिनेछ। उनीहरूलाई स्थानीय तह र विद्यालयका नर्समार्फत सचेतनामूलक कार्यक्रममा सहभागी गराइनेछ।
आगामी योजनाहरू
यो कार्यक्रम यस वर्ष प्रयोगका रूपमा लागू गरिनेछ। आगामी वर्ष बजेटमा आवश्यक व्यवस्था गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ।