खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएका छन्।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री यादवले विगतका वर्षमा वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आए पनि आगामी वर्षदेखि काठमाडौं उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी उपलब्ध गराउने योजना अन्तर्गत कार्य भइरहेको जानकारी दिए।
बाह्रै महिना मेलम्चीको पानी वितरण
मन्त्री यादवले भने, "विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गर्थ्यो। अब हामीले वर्षातको समयभरि नै मेलम्चीको पानी सुचारु गर्ने गरी काम गरिरहेका छौं। आउँदो वर्षबाट बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास अन्तिम चरणमा पुगेको छ। अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन।"
विकट क्षेत्रमा खानेपानीको व्यवस्था
मन्त्री यादवले विभिन्न जिल्लाका नागरिकले अझै पनि डोकोमा पानी बोक्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रालयले ठोस कदम चालिरहेको बताए। उनले भने, "नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकट गाउँबस्तीमा पुगिसकेको छु। कतिपय ठाउँमा त पानीका लागि बसाइँ सर्नु पर्ने अवस्था छ। ती क्षेत्रका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न ठोस कदम चाल्दैछु।"
खानेपानीका नयाँ आयोजना
मन्त्री यादवका अनुसार काठमाडौं उपत्यकासहित देशभरका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन मन्त्रालयले धेरै खानेपानी आयोजना अघि सारेको छ। मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौं ल्याउने विषयमा अध्ययन भइरहेको पनि उनले जानकारी दिए।
सिस्नेरी खोलाको विकल्प
हाल मेलम्चीबाट आइरहेको पानी बन्द भएमा वैकल्पिक स्रोतको रूपमा मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर वितरण गर्ने तयारी भइरहेको मन्त्री यादवले बताए। उनले भने, "हालसम्म मेलम्चीको विकल्प मेलम्ची नै हो। तर कुनै कारणवश मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट पानी ल्याएर नागरिकलाई वितरण गर्ने गरी काम गरिरहेका छौं।"