खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाका प्रत्येक घरमा शुद्ध खानेपानी पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। कलैया उपमहानगरपालिका अन्तर्गत मानमत-कलैया-मटिअर्वा सडक खण्डमा त्रिचन्द्र स्कुलदेखि भतौडा पोखरीसम्म ३.४ किलोमिटर लामो नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले योजना छिट्टै कार्यान्वयनमा ल्याइने बताए।
मन्त्री यादवले आगामी आर्थिक वर्षमा घाम र पानीका कारण क्षतिग्रस्त भएका पानीका ट्याङ्कीहरूको मर्मत तथा नयाँ संरचना निर्माणका लागि बजेट विनियोजन गरिने जानकारी गराए। उनले भने, “बारा जिल्लाका सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन प्रतिबद्ध छु।”
उनले जलवायु परिवर्तन, चुरे दोहन र जंगल फडानीका कारण तराईका भूमिगत पानी स्रोत सुक्दै गएको र यसले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिए। “पहिले २५० फिटमा पानी आउने चापाकल अहिले ३०० फिटमा पनि सुक्न थालेको छ। शुद्ध खानेपानीका लागि ठोस कदम नचालिए, तराई क्षेत्रमा पानीको अभाव हुन सक्छ,” मन्त्री यादवले भने।
सिस्वा गाउँ र आसपासका क्षेत्रका लागि १४ करोड रुपैयाँ बजेटमा नयाँ खानेपानी आयोजना सञ्चालन गरिने पनि मन्त्री यादवले जानकारी दिए। आयोजनाका लागि आगामी महिना टेन्डर आह्वान गरिने उनले बताए। खानेपानी मन्त्रालयअन्तर्गतका परियोजनाहरूलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै सबै नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उनले प्रस्ट पारे।
कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, नेपाल खानेपानी संस्थानका इन्जिनियर निरण महर्जन, र प्रहरी उपरीक्षक महेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो।