नेपाल पत्रकार महासंघ पर्साले सिधा कुरा डट कमका संवाददाता जियालाल साहलाई धम्की दिनेहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो।
महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा पत्रकार साहलाई समाचार लेखेकै कारण मानसिक तनाव दिने, सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने र धम्की दिने कार्यप्रति आपत्ति जनाइएको छ। महासंघले यस घटनाले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताएको छ।
सामाजिक सञ्जालमार्फत धम्की र अभद्र व्यवहार
पत्रकार महासंघले पुस १४ गते पर्साको सखुवा प्रसौनीको औराहा पचगावामा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादास्पद पृष्ठभूमिका व्यक्तिहरूलाई पार्टी प्रवेश गराएको समाचार सिधा कुरा डट कममा प्रकाशित भएपछि पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण टिप्पणी र फोटो पोस्ट गरिएको उल्लेख गरेको छ।
साहले बताएअनुसार, उनलाई फोनमार्फत धम्की दिइएको छ। “मेरो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै जहाँ भेट्यो त्यही कालो मोसो दल्ने धम्की दिएका छन्,” साहले भने, “फोन गरेर समाचार किन लेखेको भन्दै थर्काइरहेका छन्।”
कानूनी उपचारको सट्टा धम्कीपूर्ण व्यवहार
महासंघले प्रकाशन भएका समाचारहरूमा असन्तुष्टि भए कानूनी उपचारको प्रक्रिया अपनाउन सकिने बताउँदै धम्की र अपमानजनक व्यवहार आपत्तिजनक भएको बताएको छ। सामाजिक सञ्जालको दुरुपयोग गरेर सञ्चारकर्मीमाथि डरत्रास सिर्जना गर्नु प्रेस स्वतन्त्रतामाथिको बक्रदृष्टि भएको महासंघको ठहर छ।
कारबाहीको माग
महासंघले स्थानीय एमाले कार्यकर्ता वीरेन्द्र पटेल र निखिलराज गिरीलगायत संलग्नहरूमाथि कानूनी कारबाही गर्न माग गरेको छ। साथै, पत्रकार महासंघले यस्ता घटनालाई नजरअन्दाज नगर्न र प्रेस तथा पत्रकारहरूको अधिकार संरक्षण गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।