पर्साको पकहाँ मैनपुरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा ५०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन्।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार्ने उद्देश्यले पकहाँ मैनपुर गाउँपालिका–३ स्थित रामचरित्र भगवत माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा ज्येष्ठ नागरिक, महिला, पुरुष र बालबालिका सहित समुदायका विभिन्न वर्गका व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो।
सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, वीरगञ्ज सामुदायिक आँखा केन्द्र, रोहित फाउण्डेसन र क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा शिविर सञ्चालन गरेको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमाबासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिँदै भने, "सीमा सुरक्षामा तैनाथी रहने सशस्त्र प्रहरीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार स्वास्थ्य शिविर गरेका हौं। यसबाट सीमा क्षेत्रका जनता लाभान्वित भएका छन्।"
स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाको स्वास्थ्य जाँच गरेर निशुल्क औषधी वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको स्वास्थ्य सुधार्नको लागि गरिएको यस कार्यलाई सह्रायन योग्य बताउँदै भविष्यमा यस्ता शिविरको निरन्तरता दिने आवश्यकता औँल्याए।
स्वास्थ्य शिविरमा डा. रविशंकर साह (जनरल फिजिसियन), डा. लक्ष्मी थापा (स्त्री तथा प्रसूति रोग विशेषज्ञ), डा. अरविन्द साह (हाडजोर्नी विशेषज्ञ) र महेशसिंह धामी (नेत्र अधिकृत) लगायतका सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीहरूले विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरेका थिए।
स्वास्थ्य शिविरका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमामा सुरक्षा कडाइ मात्र नगरी जनताको स्वास्थ्यप्रति सचेतना देखाएको उल्लेख गर्दै यस्ता शिविरहरूको निरन्तरता आवश्यक रहेको बताए।
पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरले स्थानीय जनतालाई घरदैलोमा स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुर्याएको बताएका छन्।
शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, पकहाँ मैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतका अन्य स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति थियो।