वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको अतिक्रमण हटाउन सक्रिय कदम चालेको छ। आइतबार महानगरपालिकाले डोजर प्रयोग गरेर उद्यान क्षेत्रका अवैध अतिक्रमण हटाउन थालिएको छ।
महानगरपालिकाले यसअघि दुई पटक सूचना जारी गरी जग्गा खाली गराउन प्रयास गरेको थियो। पहिलो पटक गत मङ्सिर २६ गते १५ दिनको समयसहित अल्टिमेटम जारी गरिएको थियो। उक्त समयसीमा समाप्त भए पनि काम नगरेपछि, पुस १२ गते पुनः ७ दिनको अल्टिमेटमसहित दोस्रो सूचना जारी गरिएको थियो।
महानगर प्रमुखका सल्लाहकार हरि श्रेष्ठका अनुसार, बिपी उद्यानको खाली गराइएको जग्गामा पार्क निर्माणको काम शीघ्र थालिनेछ। आज पहिलो चरणमा उत्तर पट्टिको अतिक्रमण हटाइएको र भोली महानगरको डोजर दक्षिण तर्फको अतिक्रमण हटाउँदै जाने बताए। उनले भने, “विकास निर्माणका लागि जनताबाट सहकार्य अपेक्षित छ, र यसका लागि उक्त क्षेत्रमा रहेको बजार हटाउनु आवश्यक थियो।”
पार्क निर्माणको माध्यमबाट स्थानीयहरूले हरियाली वातावरण र मनोरञ्जनको नयाँ अवसर पाउने महानगरका प्रमुख राजेशमान सिंहको दाबी छ। महानगरपालिकाको प्रारम्भिक योजना अनुसार, पार्कभित्र मनोरञ्जनात्मक गतिविधिहरू, खेलकुदको व्यवस्थापन, र वरिष्ठ नागरिकहरूको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने प्रमुख सिंहले जानकारी दिए।
प्रमुख सिंहले आफ्नो प्रयासमा साथ दिन स्थानीयहरूसँग आग्रह पनि गरेका छन्। विकास निर्माणका कामले दीर्घकालीन लाभ पुर्याउने भन्दै उनले आवश्यक सहकार्यका लागि पुनः अपिल गरेका छन्।
महानगरको यस कदमले स्थानीय बासिन्दाहरूसँग अन्योल थपिएको छ। उक्त क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आइरहेका विशेषतः दलित समुदायका व्यक्तिहरूले आफ्नो व्यवस्थापनबारे गुनासो गरेका छन्। उनीहरूले उचित विकल्पको व्यवस्थापन गर्न माग गरेका छन्।