नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत आइतबार पहिलो दिनको दुवै खेल सकिएको छ।
आइतबार पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, तथा धनुषाको जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशबीच पहिलो दिनको खेल भएको थियो।
पर्सा: ललितको ऐतिहासिक बलिङ र पुलिसको राम्रो सुरुआत
पर्सामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको थियो। आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटियो। कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए।
पुलिसका ललित राजवंशी एक्लैले सात विकेट लिए। ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन्। त्यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे। ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका थिए।
जवाफमा पुलिसले पहिलो दिनको समाप्तिमा २४ ओभर खेलेर ७ विकेटको क्षतिमा १०३ रन बनाएको छ। पुलिस अब अग्रताबाट १८ रन मात्र पछाडि छ। उसका गुल्शन झा ३४ रनमा अविजित छन्। आर्मीका साहब आलमले ५ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका छन्।
जनकपुर: बागमतीको जबरदस्त बलिङ, मधेशको संघर्षपूर्ण प्रदर्शन
धनुषाको जनकपुरमा बागमती प्रदेशले मधेश प्रदेशलाई दबाबमा पार्दै खेलको पहिलो दिनमा १०२ रनमा समेटेको छ। टस जितेर ब्याटिङ गरेको मधेश ३५.२ ओभरमा अलआउट भएको थियो। मधेशका मयन यादवले सर्वाधिक २१ रन बनाए।
बागमतीका सन्दीप लमािछानेले ५ विकेट लिए भने सुर्य तामाङले ३ विकेट लिएका थिए। नन्दन यादव र प्रतिश जिसीले १-१ विकेट हात पारे।
जवाफी ब्याटिङमा बागमतीले १३ ओभरमा २ विकेटको क्षतिमा ३४ रन बनाएको छ। बागमतीका शुभ कंसाकार २२ रनमा र इशान पाण्डे ९ रनमा अविजित छन्। मधेशका रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिएका छन्।
स्पिनरहरूको प्रभावशाली प्रदर्शन
पहिलो दिनको खेलमा स्पिनरहरूले ठूलो प्रभाव पार्दै ब्याटरहरूलाई संघर्ष गर्न बाध्य पारे। पहिलो दिन कुल २९ विकेटमध्ये २२ विकेट स्पिनरले लिएका छन्। ललित राजवंशीले ७ विकेट लिएर सबैको ध्यान आकर्षित गरे, जबकि अन्य दुई खेलाडीले ५ विकेटको कीर्तिमान बनाएका छन्।
सोमबार दुवै खेलको दोस्रो दिनको खेल बिहानदेखि जारी रहने छ।