पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने भएको छ। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो।
थुनछेक बहसमा प्रतिवादीहरूले उठाएका विषयमाथि सरकारी वकिलको जवाफी बहस हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्। उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउन सक्ने अदालत स्रोतले जनाएको छ।
सुरक्षा व्यवस्था कडा
बहस अन्तिम चरणमा पुगेर फैसलाको मिति नजिकिएसँगै बुधबारदेखि शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने आज पनि सुरक्षा व्यवस्थालाई थप कडा पारिने प्रशासनले जनाएको छ।
सरकारी कामका लागि आउनेले कागजात देखाएरमात्रै प्रवेश पाउने व्यवस्था गरिएको छ। राष्ट्रबैंक चोकदेखि कोमागाने पार्क, रत्नचोकदेखि मालपोत कार्यालय, र मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेर सवारी आवतजावत रोकेको छ। कामको प्रमाणबिना नागरिकलाई निषेधित क्षेत्रमा छिर्न नदिइने जानकारी पनि प्रशासनले दिएको छ।
अदालत क्षेत्रमा झडपको आशंका
२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो। बुधबार पनि रास्वपाका कार्यकर्ताले अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए, तर प्रहरीले रोक लगाएको थियो।
पुर्पक्ष थुनामा राख्ने कि धरौटीमा छोड्ने?
लामिछानेसहित पूर्व डिआइजी र गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविका सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङमाथि जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छोड्ने भन्ने निर्णय गर्नेछ।
१ अर्ब ५१ करोड बिगो माग दाबी
सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसहित ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ र ७ गते अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको छ।