मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दलित, महिला, युवा तथा अल्पसंख्यक समुदायका मुद्दालाई विशेष प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता जनाएका छन्। नागरिक समाज र सरकारी संयन्त्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै, उनले समुदायका आवश्यकता सम्बोधन गर्न ठोस कदम चालिने बताए।
मुख्यमन्त्री सिंहले समाजका विभिन्न वर्गका जीवनशैलीमा परिवर्तन आएको भए पनि मुसहरजस्ता अति पिछडिएका समुदायको अवस्था अझै सुधार नहुँदा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। उनले थपे, “दलित र अल्पसंख्यक समुदायको समग्र सुधारका लागि नागरिक समाज र सरकारबीच थप सहकार्य गर्न आवश्यक छ।”
मिडिया फेलोशिप कार्यक्रमलाई प्रभावकारी बनाउने सरकारको प्रतिबद्धता
मुख्यमन्त्री सिंहले नागरिक समाज अभियान पर्सा र यसका गतिविधिहरूको प्रशंसा गर्दै ‘द एसिया फाउण्डेशन’ को सहयोगमा सञ्चालित मिडिया फेलोशिप कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले फेलोशिप कार्यक्रमले दलित, महिला, युवा र अल्पसंख्यक समुदायका मुद्दाहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
ध्यानाकर्षण पत्र र समाचार संगालो हस्तान्तरण
कार्यक्रमको क्रममा अभियानका संयोजक साजिर मन्सुरले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए। यसैगरी, अभियानका प्रमुख कार्यकारी निर्देशक शिवनाथ यादवले फेलोशिपअन्तर्गत प्रकाशित समाचारहरूको संगालो “समाचार संगालो” मुख्यमन्त्री सिंहलाई हस्तान्तरण गरे।
अभियानका गतिविधि र नागरिक समाजको भूमिका
कार्यक्रममा अभियानकी कार्यक्रम अधिकृत सलमा खातुले अभियानका गतिविधिहरू, उपलब्धिहरू र चुनौतीहरूको बारेमा जानकारी दिँदै प्रदेशका पिछडिएका वर्गहरूलाई न्याय दिलाउन अभियानले सक्रिय भूमिका खेलेको बताइन्।
अभियानमा निभा सिंह, ओमप्रकाश सरार्फ, फैजा खातुनलगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले आफ्नो क्षेत्रमा भएका विभिन्न गतिविधि, रिपोर्टिङ अनुभव र समुदायका आवश्यकता सम्बोधन गर्न नागरिक समाजको भूमिकाको महत्त्वबारे छलफल गरेका थिए।
नीति निर्माणमा नागरिक समाजका सुझावको समावेश
मुख्यमन्त्री सिंहले नागरिक समाजबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने आश्वासन दिएका छन्। उनले दलित, महिला, युवा र अल्पसंख्यक समुदायको सशक्तीकरणका लागि नयाँ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताए।