आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वीरगञ्जको विकासमा स्थानीय नेताहरूको भूमिकालाई लिएर कडा टिप्पणी गरेका छन्। बिहीबार नारायणी रङ्गशालाको अवलोकनपछि उनले पर्साका मन्त्रीहरूलाई “दलाल” को संज्ञा दिंदै वीरगञ्जको विकासमा कुनै प्रगति नभएको आरोप लगाए।
साहले पर्साका तीन सङ्घीय र दुई प्रदेश मन्त्री हुँदाहुँदै पनि वीरगञ्जमा ठोस विकास नभएको बताए। पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई समेत आलोचना गर्दै उनले भने, “पाँच वर्ष मुख्यमन्त्री हुँदा राउतले के गरे? अहिलेका मन्त्रीहरूले नयाँ के थपे?”
पञ्चायत कालपछिको विकास ठप्प
साहले पञ्चायत कालमा निर्माण भएका नारायणी रङ्गशाला, टाउन हल, शङ्कराचार्य द्वार, घण्टाघर, नारायणी अस्पताल, र ठाकुरराम क्याम्पस जस्ता संरचनाहरूलाई स्मरण गर्दै पछिल्लो समयमा कुनै उल्लेखनीय विकास नभएको बताए। “पञ्चायत कालपछि वीरगञ्जमा नयाँ संरचना बनेको छैन। अहिले भएका संरचनाहरू पनि जीर्ण अवस्थामा पुगेका छन्,” उनले भने।
स्थानीय सरकारप्रति असन्तुष्टि
मधेसको केन्द्र जनकपुरमा स्वागत द्वार बनेको उदाहरण दिँदै उनले वीरगञ्जको स्थानीय सरकारले यस्तै कुनै ठोस काम नगरेको आरोप लगाए। “जनकपुरमा स्वागत गेट बन्यो, तर वीरगञ्जमा केही बनेको छैन। यहाँको स्थानीय र प्रदेश सरकारले के गरेको छ?” साहले प्रश्न गरे।
नारायणी रङ्गशालाको दयनीय अवस्था
नारायणी रङ्गशालाको जीर्ण अवस्थाप्रति दुःख व्यक्त गर्दै साहले भने, “यो कहिल्यै खेलकुदको केन्द्र थियो, तर अहिले यसलाई हेर्दा आफैँलाई लाज लाग्छ। नेताहरूले यसलाई सुधार्न कुनै प्रयास गरेका छैनन्।” रङ्गशालाको पुनर्निर्माणका लागि सङ्घर्षबाहेक विकल्प नभएको उनले बताए।
प्रधानमन्त्री ओलीमाथि आलोचना
साहले हालै पर्साको भ्रमण गरेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कटाक्ष गर्दै भने, “केपी ओली यहाँ आउँदा रङ्गशालाको अवलोकन पनि गरेनन्। यसको विकासका लागि उनले केही गरेनन्।”
केन्द्र सरकारमाथि विभेदको आरोप
साहले केन्द्र सरकारले वीरगञ्जलाई “लुट्ने ठाउँ” को रूपमा मात्र हेर्ने गरेको आरोप लगाए। “वीरगञ्जबाट अर्बौँ कर उठाइन्छ, तर विकासका लागि बजेट दिइँदैन। यो सरकारको विभेद हो,” उनले भने। वीरगञ्जबाट उठाइने करको अनुपातमा विकास बजेट सुनिश्चित गर्न दबाब दिने र विरोधका कार्यक्रमहरू सुरु गर्ने चेतावनी पनि उनले दिए।
आर्थिक राजधानी बनाउने अठोट
वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउने दृढ अठोट व्यक्त गर्दै साहले स्थानीय नेताहरूलाई पुनः चोर र भ्रष्टाचारीको संज्ञा दिए। “वीरगञ्जलाई आर्थिक राजधानी बनाउन म नेतृत्व गर्नेछु। यदि सरकारले यो माग पूरा गरेन भने मधेस अनिश्चितकालका लागि बन्द हुनेछ,” उनले घोषणा गरे।
जय ट्रफीमा सहभागिता
नारायणी रङ्गशालाको अवलोकनपछि साहले त्यहाँ जारी जय ट्रफी प्रतियोगितामा समेत सहभागिता जनाएका थिए।