नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीलाई विशेष कार्यक्रममार्फत बिदाइ गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, महिला सिनियर टिमकी कप्तान इन्दु बर्मालगायतका सदस्यहरूको उपस्थिति रहेको थियो। टोलीलाई शुभकामनासहित बिदाइ गरियो।
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न सुझाव दिए। उनले खेलाडीहरूको तयारीप्रति विश्वास व्यक्त गर्दै उनीहरूले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उमेर सानो भए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले क्यानको कामको प्रशंसा गर्दै विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न विद्यालयहरूसँग सहकार्य गर्न सकिने धारणा राखे।
यू-१९ टोलीकी कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता जनाइन्। "एसिया कपमा पाकिस्तानलाई हरायौं, अब विश्वकपमा पनि नयाँ इतिहास रच्ने प्रयास गर्नेछौं," पूजाले भनिन्।
प्रशिक्षक महेश प्रसाद रिजालले प्रतियोगिताका लागि टोलीले उत्कृष्ट तयारी गरेको जानकारी दिए। उनले भने, "हामीले चितवनमा राम्रो प्रशिक्षण गर्यौं। विश्वकपमा हाम्रो क्षमता प्रदर्शन गर्ने अवसर छ, र राम्रो प्रदर्शन हुनेमा विश्वास छ।"
महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले यू-१९ टोलीलाई विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिइन्। उनले नेपाली क्रिकेटलाई गर्व गर्न लायक बनाउने शुभकामना व्यक्त गरिन्।
नेपाली यू-१९ महिला टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ। टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउने लक्ष्य राखेको छ।