राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुने तयारीमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताका अनुसार लामिछाने आज साढे १ बजे जहाजमार्फत काठमाडौं आउने छन्। त्यसपछि उनले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने योजना बनाएका छन्। "उहाँ साढे १ बजे काठमाडौं आउँदै हुनुहुन्छ, त्यसपछि आजै अदालतमा उपस्थित हुनुहुन्छ," ती नेताले बताए।
अदालतमा उपस्थिति शर्तमा धरौटीमा रिहा
लामिछानेलाई पोखराको जिल्ला अदालतमा धरौटी बुझाएपछि प्रहरीले अदालतमा उपस्थित हुने शर्तमा छाडेको थियो। बिहीबार राति उनी पोखरामै बसेका थिए।
पूर्वगृहमन्त्री लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो। उनीहरूमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ।
काठमाडौंमा अर्को सहकारी ठगी मुद्दा
काठमाडौंमा पनि लामिछानेविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ। गत आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो।
स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। यस प्रकरणमा सहकारी लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामाले तीन लाख धरौटी बुझाएर मंगलबार नै रिहा भइसकेका छन्।