वीरगञ्ज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरेको छ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बहने (सारिसवा) सिर्सिया, तिलावे र सिंगहा नदीका किनारमा अतिक्रमण गरी बनाइएका संरचनाहरू तत्काल हटाउन र उक्त नदीको केन्द्र भागबाट ३० मिटर भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न चेतावनी दिएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रवार एक सूचना जारी गर्दै बस्ती विकास सहरी योजना, भवन निर्माण मापदण्ड र भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ को दोस्रो संशोधन २०७८ अनुसार मात्रै संरचना निर्माण गर्न अनुरोध गरेका छन्।
सूचनामा भनिएको छ कि सिर्सिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ-बायाँ छाडेर मात्रै संरचना निर्माण गर्न सकिन्छ, र उक्त क्षेत्रभित्र रहेका संरचनाहरू १५ दिनभित्र खाली गर्नुपर्नेछ।
कर्णले जारी गरेको सूचनामा भनिएको छ, "सिर्सिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ-बायाँ भित्र निर्माण कार्य नगर्न नगराउन साथै सो भित्र निर्माण भएका संरचना १५ दिनभित्र खाली गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।"
नदी किनार अतिक्रमण गरेर संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या उत्पन्न हुन सक्ने भएकाले नदीको आधार क्षेत्रमा कुनै पनि संरचना निर्माण नगर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आग्रह गरेका छन्।