वीरगञ्ज र जनकपुरमा जारी जय ट्रफी क्रिकेट प्रतियोगिताको लिग चरण आइतबार सम्पन्न भएको छ।
लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई र त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई पराजित गरेका छन्।
जितसँगै पुलिस क्लबले दुई जित र एक ड्रको साथ शीर्ष स्थान हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। त्यस्तै, आर्मी क्लबले एक जित र दुई ड्र गर्दै दोस्रो स्थान हात पारेर फाइनल यात्रा तय गरेको छ।
पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहका अनुसार फाइनल खेल मङ्गलवार हुनेछ, जहाँ दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
आइतबारका खेलहरू
वीरगञ्जमा मधेस प्रदेशविरुद्धको खेलमा आर्मी क्लबले २८ रनको लक्ष्य २ विकेट गुमाएर सहजै पूरा गर्यो। मधेस प्रदेशले दोस्रो पारीमा १५० रन मात्र बनाउन सक्दा अग्रता केवल २७ रनको थियो।
मधेसका लागि मयन यादवले ४९ रन र कप्तान हरिशंकर साहले २५ रन बनाए पनि अन्य खेलाडीको प्रदर्शन कमजोर रह्यो। आर्मीका शाहाब आलमले दोस्रो पारीमा ३ विकेट र पहिलो पारीमा ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। वसिर अहमदले दोस्रो पारीमा ४ विकेट लिएर टिमलाई महत्त्वपूर्ण योगदान दिए।
जनकपुरमा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्यो। दोस्रो पारीमा ११६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर पूरा गर्यो।
पुलिसका कप्तान कुशल भुर्तेलले पहिलो पारीमा ८ रन र दोस्रो पारीमा ३२ रन बनाए। बलिङतर्फ पहिलो पारीमा २ विकेट र दोस्रो पारीमा १ विकेट लिँदै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले। अमित श्रेष्ठले पहिलो पारीमा ७९ रन र दोस्रो पारीमा ५६ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। अर्जुन साउदले पहिलो पारीमा ७७ रन र दोस्रो पारीमा नटआउट २० रन बनाउँदै टिमलाई सहज जित दिलाए।
फाइनल खेलको तयारी
प्रतियोगितामा नेपाल पुलिस क्लबले दुई जित र एक ड्र गरेको छ भने त्रिभुवन आर्मी क्लबले एक जित र दुई ड्र खेलेको छ। मधेस प्रदेशले दुई खेल गुमाएर एक खेल ड्र गर्यो भने बागमती प्रदेशले एक खेल हारेर दुई खेल ड्र गरेको छ।
प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब, र त्रिभुवन आर्मी क्लब गरी चार टिम सहभागी थिए। यो प्रतियोगिता प्रधानमन्त्री कपका शीर्ष चार टिमबीच आयोजना गरिएको हो।
राष्ट्रिय टिमका खेलाडीहरूको उपस्थिति रहेको प्रतियोगितामा विभागीय टिमहरूको दबदबा देखिएको छ। अब, मङ्गलवारको फाइनल खेलले जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगिताको विजेता टुंगो लगाउनेछ।