२०१३ कार्तिक ६ गते वीरगंको गहवामा जन्मेका प्राध्यापक हरि तुलाधर वीरगंंजवासीको लागी परिचित नाम नै हो । स्व. बुवा मन्जुरत्न तुलाधर तथा स्व. आमा रुकमणी देवी तुलाधरको दामपत्य जिवनबाट जन्मेका तुलाधर ३ दाजुभाई मध्येका कान्छा छोरा हुन् । २०३१ सालमा माईस्थान विद्यापिड गहवाबाट एस.एल.सी. उतिर्ण गरी आर्ट विषयमा मास्टर डिग्री सम्म अध्ययन गरेका तुलाधर २०४४ सालदेखि नै ठाकुुरराम बहुमुखी क्यामपसमा शिक्षण पेशामा लागेका हुन् । आर्ट अन्तर्गत ईतिहास विषय पढाउने प्रा. तुलाधर आदर्श बोर्डिङ्ग स्कुलको शैक्षिक निर्देशक भई विगत १४ वर्षदेखि वीरगंज पब्लिक कलेज (वीपिसी) प्लस टु र बीबीएसको प्रिन्सिपलका रुपमा कार्यरत हुनुहुन्छ । शिक्षक पेशमा आबद्ध उनै प्राध्यापक तुलाधरसंग शैक्षिक क्षेत्र सम्बन्धी मध्य नेपालको लागी गरिएको बिशेष कुराकानी :
१) अहिले समग्रमा उच्च माध्यमिक विद्यालयको शैक्षिक अवस्था कस्तो पाउनु भएको छ ?
तराईको जिल्लाहरुमा संख्यात्मक हिसाबले शिक्षामा विकास भए पनि गुणात्मक रुपमा सन्तुष्टी गर्न सकिने अवस्था छैन । कक्षा ११ र १२ लाई पनि सरकारले समुदायिक विद्यालय अन्तर्गत गाभिए पनि वर्षेनी धेरै निजी विद्यालयहरु खुलिरहेको छ । तर विधार्थीहरुको लागी जुन किसिमले वातावरण, शैक्षिक ट्रेनिङ्ग वा शिक्षक चाहिन्छ, । त्यस अनुसार धेरै निजी विद्यालयमा व्यवस्थापनको अभाव छ । तसर्थः संख्यात्मक रुपमा विद्यालय, विधार्थीहरुको संख्या बढिरहेको छ । तर गुणानात्मक हिसाबले खासै विकास भएको देखिदैन । अहिले प्राय विद्यालय व्यवसायीक सोचले चलिरहेको हुनाले पनि गुणस्तरीय शिक्षाभन्दा पनि व्यवसायिकरण गर्ने गर्ने हरेक वर्ष नयाँ स्कुल विद्यालय खुलिरहेको छ ।
विद्यालय संचालन हुने ठाउँको वातावरण भौतिक संरचना आदीको व्यवस्थापन राम्रोसंग छ कि छैन भने कुरामा कुनैे ध्यान नदिई जुन सुकै व्यक्तिले पनि जुनसुकै संकायमा विद्यालय स्थापना गरी ५/६ वटा शिक्षक राखेर विद्यालय संचालन गरी चलाई रहेका छन् । यसमा मुख्यतः रोजगारीको समस्याले गर्दा पनि दुुई/चार पैसा लगानी गरी विद्यालय नै चलाउने सोचलले शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनु पर्ने हो त्यो अनुसार हुन सकेको छैन ।
२) त्यसतै उच्च माध्यमिक विद्यालयको भौतिक अवस्था यहाँले कस्तो पाउँनु भएको छ ?
धेरै विद्यालयको भौतिक अवस्था पनि संतोषजनक छैन । केही क्याम्पसहरु होला जसको आफ्नै भवन, विषयबस्तु अनुसारको दक्ष शिक्षकद्धारा किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानको बारेमा पनि पढाईन्छ ।
अहिलेको युगमा किताबी ज्ञानले मात्र नभई व्यवहारिक ज्ञान पनि हुनु एकदमै जरुरी छ । त्यसकारण केही विद्यालयहरुले यस्ता कुरालाई ध्यानमा किताबी ज्ञानको साथै व्यवहारिक ज्ञान, विभिन्न किसिमका सेमिनार र ट्रेनिङ्ग पनि दिलाएर गुणस्तरी शिक्षा दिईरहेका छन् । तर अहिले प्रायः के देखिन्छ भने चार वटा कोठा लिएर एउटा सानो ठाउँमा बिधार्थी पढ्न नसक्ने वातारवणमा पनि विद्यालय संचालन भईरहेको छ जहाँ शिक्षकहरुले पनि आफ्नो स्टयान्डर मेन्टन गर्न सक्दैन । अब त्यस्तो ठाउँमा विधार्थीहरुलाई कुनै भौतिक सुविधा नदिएपछि विधार्थीले शुल्क पनि त्यही अनुसार दिन्छ । तर राम्रो शिक्षकले पढाउनको लागी त राम्रो पैसा पनि दिनुपर्छ नै । त्यो अनुसार कम पैसा खर्च गरेर त्यसतै वातावरणमा विना कुनै तालिम र ट्रेनिङ्ग गराई धेरै विद्यालयहरु संचालनमा रहेको छ । जसको प्रत्यक्ष असर विधार्थीहरुमाथि पर्ने गरेको छ । त्यसकारण सरकारले पनि कुनै पनि विद्यालय संचालन गर्न स्वीकृति दिदाँ सम्बन्धीत संस्थासंग विद्यालय भवन, शैक्षिक साम्रगी, विशक्षकको क्षमता र शिक्षकलाई दिईने सुविधाहरु संचालित संस्थाले दिन सक्छ कि सक्दैन भने कुरा बुझेर मात्र स्वीकृति दिनुपर्छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा अरु ठाउँसंग प्रतिस्पर्धा गराउन सक्ने कोर्षको विकास वा शिक्षा दिन सक्नु पर्छ ।
३) वीरगंजमा अहिले कस्तो किसिमको शिक्षाको आवश्यकता रहेको छ ?
वीरगंज जस्तो ठाउँमा सबै किसिमको शिक्षाको आवश्यकता छ । विषयगत भन्नुपर्दा राम्रो साईन्स, कमर्श र ल कलेज लगायत विभिन्न किसिमका टेक्निकनलोजीको पढाई हुने क्यामपस पनि चाहिन्छ ।
शैक्षिक क्षेत्रमा लागेका धेरै व्यक्तिहरु वीरगंजलाई शिक्षाको हब बनाउने कार्यमा लागेका छन् । विदेशमा पढ्ने धेरै कोर्षहरुको विकास वीरगंजमा पनि भईसकेको छ । तर यहाँका अभिभावहरु शिक्षालाई व्यवस्थापन गर्नमा त्यति जिम्मेवार नभएको कारण बाहिरका विद्यालयहरुले पनि वीरगंजमा आफ्नो शिक्षा सम्बन्धी प्रचार प्रसार गरी विद्यार्थी भर्ना गरिरहको छ । जबकी यहाँका अभिभावकहरु जागृत भयो भने विदेशको ठुल–ठुला शहरहरुमा हुने पढाई वीरगंजमा पनि सम्भव छ ।
४) शैक्षिक क्षेत्रमा देखिएको बेतिथिलाई न्युनिकरण गर्न के गर्नु पर्छ ?
सबैभन्दा पहिला शैक्षिक क्षेत्रमा राजनीति लगाव राख्नु नै हुदैन । विद्यालय तथा विधार्थीको प्रयोग गरी राजनीति स्वार्थ पुरा गर्ने शिक्षक वा राजनीतिकर्मीले आफ्नो सोचमा परिवर्तन ल्याउन एकदमै जरुरी छ । प्रायः शिक्षकहरु पनि राजनीति संग स्वार्थ पुरा गर्न शिक्षालाई नै माध्यम बनाएको देखिन्छ ।
देशका राजनीति दलका विभिन्न पार्टीहरुको भातृ संगठन पनि शिक्षा क्षेत्रसंग जोडिएको हुनाले पनि शैक्षिक क्षेत्र प्रभावित भएको देखिन्छ । यसमा मुख्यतः सरकारले राजनीति पार्टी वा व्यक्तिलाई शैक्षिक क्षेत्रसंग सम्बन्ध हुने गरी कुनै पनि सगठन बनाउनु हुदैन । भएको संगठनलाई पनि सरकारले खारिज गरिनु पर्छ । अनि मत्र शिक्षामा सुधार आउँछ ।
५) तर प्रायः शिक्षकहरुले नै राजनीति गरेकोले शैक्षिक क्षेत्र प्रभावित भएको छ भन्ने आरोप छ नि ?
सबै शिक्षकहरु राजनीति नै गर्नु हुन्छ भने म मान्दैन् । हरेक व्यक्तिहरुको आ–आफ्नो सोच भएकोले केही शिक्षकहरु कुनै पार्टीको भातृ संगठनबाट राजनीतिमा पनि लागेका हुन । शिक्षकहरुलाई राजनीतिमा लाग्नु भनेको नराम्रो होईन तर राजनीतिक भनेको विकास र परिवर्तनको लागी हुनुपर्छ ।
शिक्षक भनेको राम्रो ज्ञान दिने, समाजमा जनचेतना फैलाउने हो । आफुले पनि राजनीति गर्दा स्वच्छ भावनाका साथ विकास र परिवर्तनको लागी गर्नु पर्छ । न कि स्वार्थ पूर्तिको लागी होईन । शिक्षकहरु राजनीतिको आडमा आफ्नो स्वार्थ पुरा गर्नको लागी विद्यार्थीहरुको परिचालन गर्नु हुदैन । शिक्षकहरुले आफ्नो चहिएको कुरालाई आफैले आवाज उठाउनु पर्छ । तसर्थः शिक्षकले विधार्थीको भविष्य, राजनीतिक अवस्था, समाजिक अवस्था आदीलाई प्रभाव पार्ने गरी राजनीति वा अरु कुनै गतिविधी गर्नु हुदैन ।
६) वीरगंजका प्राय कन्सल्टेन्सिहरु सरकारको मापदण्ड विपरित चलिरहेको हल्ला छ नि ?
सबैभन्दा पहिला कन्सल्टेन्सि संचालकहरुले विधार्थीहरुलाई मितव्ययी वातावरणमा गुणस्तरीय शिक्षा दिन सक्ने स्रोत साधनको राम्रो व्यवस्था गर्नुपर्छ । अनि मात्र सरकारको मापदण्ड अनुसार कन्सल्टेन्सि संचालनमा ल्याउनु पर्छ । तर यहाँ सिजन सिजनमा वर्सातको बेला च्याउ उम्रे झै, जति पानी परे पनि भ्यागुतारु कराए झै वीरगंजमा सिजनल कन्सल्टेन्सिहरु खुल्ने गरिन्छ । यसमा सरकारको गम्भिर ध्यानाकर्षण हुनुपर्छ ।
कन्सल्टेन्सिमा पढ्ने प्रायः विद्यार्थीहरु स्कुल, कलेजमा त्यति ध्यान दिएर नपढेको देखिन्छ । यसले एकतिर विद्यालयको पढाईको वातावरण धमिलो हुन्छ भने कन्सल्टेन्सिहरुले राम्रो ध्यान नदिदाँ अभिभावकको सपना चक्नाचुर हुनुको साथै आर्थिक नोकसानी भई विधार्थीहरुको भविष्य समेत अन्धकारमा जान्छ । त्यसकारण सम्बन्धित निकायले यसमा विषेश ध्यान दिनु अत्यन्तै जरुरी छ ।
७) केही वर्ष अगाडी वीरगंजमा पनि विश्वविद्यालय बनाईने कुरा चर्चामा आएको थियो ? वीरगंजमा विश्वविद्यालयको कतिको सम्भावना देख्नुहुन्छ ?
वीरगंज नेपालको अर्थिक तथा औधोगिक नगरी हुनुका साथै विकसित मुलुक भारतको छिमेक नजिकै रहेकोले यहाँ विश्वविद्यालयको धेरै सम्भावना छ । यतिका वर्षसम्म कुरामा मात्र सिमित रहनु भनेको व्यक्तिगत स्वार्थ र राजनीतिक अगुवाहरुको कमीकमजोरी पनि हुन सक्छ । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्यामपस नेपालकै नम्बर वन क्यामपसको रुपमा विकास भएको थियो । पहिला जुन स्थिति थियो त्यो अहिले छैन् । ठाकुरराम क्यामपसमा एजुकेशन, कमर्श, साईन्स, आर्ट लगायत थुप्रै विषयको पढाई छ । ठाकुरराममा भएको पूर्वाधार तथा एरियालाई सहि तरिकाले व्यवस्थापन गरी त्यसमा पढाउने सम्पूूर्ण शिक्षक, राजनितीक दलका व्यक्ति तथा यहाँका उद्योगपतिहरु साकारात्मक रुपमा अगाडी बढे भने विश्वविद्यालयको लागी वीरगंजमा पर्याप्त स्रोत साधन तथा सम्भावना रहेको छ ।
यसमा मुख्यतः चार वटा पक्ष राजनीतिकर्मी, शिक्षक, व्यापारी र अभिभावक संघहरु साकारात्मक हुनुपर्छ । मेरो पार्टीको सरकारमा विश्वविद्यालय बनेपछि यसको क्रेडिट मलाई मिल्छ भने सोच राजनीतिदलले पनि हटाउनु पर्छ । किन भने जबसमम शिक्षाको विकास हुदैन तबसम्म कुनै कुराको विकास हुन सम्भव छैन् । अर्काे जति पनि शिक्षकहरुले आ–आफ्नो क्यामपस खोल्नमा लागेका छन् ती सबै जना एकरुपता भई विश्वविद्यालयलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्छ । वीरगंज औधोगिक नगरी भएकोले यहाँ फाईनान्सको पनि निकै महत्व भएको कारण उद्योगीहरुले ध्यान दिन जरुरी देखिन्छ । अभिभावक संघ, शिक्षक सबै मिलेर अगाडी बढ्यो भने चाडै नै वीरगंजमा पनि विश्वविद्यालय बन्छ ।
८) प्रदेश नं. २ को शैक्षिक अवस्था भद्रगोल छ । यसमा कुनै सुधार नै नगरी प्रदेश सरकारले ल्याएको मदर्शा शिक्षा बोर्डलाई कसरी लिनु हुन्छ ?
कुनै पनि समुदायलाई समुदायिक हिसाबले शिक्षा दिनु नराम्रो कुरा होईन, चाहे गरिब, अन्धा, दलित, जनजाती वा मुश्लिम समुदायको लागी होस् । त्यसकारण मुश्लिम समुदायलाई शिक्षित बनाउन ल्याईएको मदर्शा शिक्षा बोर्ड नराम्रो होईन । तर त्यहाँ विधार्थीहरुलाई देशको एकता र राष्ट्रियतालाई बलियो बनाउनु भन्दा देशमा अशान्ति, अनेकता र हिंसाको पाठ सिकाउनु भएन ।
देशको विकास गर्नको लागी सबै समुदायलाई समेटेर अगाडी बढ्नै पर्छ । तर मेरै धर्म र मेरै जातिको मेरो किसिमले मात्र शिक्षा हुनुपर्छ भने भान कसैलाई पनि हुनु हुन्न । देशमा एकता र राष्ट्रियताको भावनाको विकासको पाठ सिकाउने कोर्षहरु अब थपिनु पर्छ । जातियभन्दा पनि शिक्षामा सम्रगताको निति ल्याए मात्र शैक्षिक क्षेत्र बलियो भएर देश विकास र समृद्धिको दिशामा अगाडी बढ्छ ।
९) अन्त्यमा, विद्यार्थीहरुको सफलताको लागी अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
शिक्षाको विकास र विद्यार्थीको भविष्य उज्वल पार्नमा शिक्षक, विद्यार्थी र अभिभावक यी तीनवटैको बराबर भूमिका रहेको हुन्छ । यसमा पन मुख्य भूमिका भनेको अभिभावकको हुन्छ । त्यसैले भन्ने गरिन्छ परिवार भनेको पहिलो पाठशाला र आमाबुवा भनेको पहिलो गुरु हुन् । बच्चालाई सानै देखि समाजिक रितिरिवाज, संस्कृति आदी जस्ता धेरै कुरा अभिभावकहरुले नै सिकाएको हुन्छ ।
विद्यार्थीहरुको शिक्षाको अवस्था राम्रो बनाउनको लागी सबैभन्दा बढि अभिभावकले नै ध्यान दिनुपर्ने हुन्छ । किन भने विद्यालय बाहेक विधार्थी घरमा जादाँ के गर्दैछ, कति बजे घरमा आईरहेको छ, मोबाईल चलाईरहेको छ भने मोबाईलमा के चलाईरहेको छ, कस्तो सङ्गत छ, खान्छ भने के खान्छ । यी सबै कुमारमा अभिभावकहरुकै भूमिका हुन्छ । किन भने विद्यार्थी विद्यालयमा ५÷६ घण्टा मात्र हुन्छ, बाँकीको समय भने उ घरमै हुन्छ । त्यसकारण छोराछोरीको पढाई गुणस्तरीयता बृद्धि गर्न र उनीहरुलाई पढाई प्रति सम्बेदनशिल बनाउने कार्यमा अभिभावकहरुले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।