वीरगञ्जमा आइतबार आयोजित नेकपा (एकीकृत समाजवादी) पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादीले आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको दाबी गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) नेपालको राजनीतिमा स्थापित दल भइसकेको बताउँदै पार्टीको इज्जत, मान र प्रतिष्ठा रहेको उल्लेख गरे। उनले भने, “यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ।” सन् २००६ मा स्थापित नेपालको कम्युनिष्ट पार्टी विभाजनमा जाने क्रमलाई दुर्भाग्यपूर्ण भन्दै अध्यक्ष नेपालले राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गरे। उनले देशको हितमा काम गर्ने व्यक्तिहरूलाई राज्य र राजनीतिक दलहरूले संकीर्ण सोच त्यागेर सम्मान गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले सत्ता र कुर्सीका लागि आफूलाई खोज्दै आउनुपर्ने अवस्थाको चर्चा गरे। “माधव नेपालको अनुहार हेर्न मन नलाग्ने भन्ने व्यक्ति नै अन्ततः म कहाँ दौडेर आउनुप¥यो,” उनले भने। आफूले कसैप्रति घृणा नराख्ने उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “जस्तो बीउ रोप्यो, त्यस्तै फल पाइन्छ। जसले घृणाको बीउ रोप्छ, उसले घृणाको फल नै पाउँछ।”
अध्यक्ष नेपालले नेपालको क्षेत्रफल सानो भए पनि मुलुकको इज्जत, प्रतिष्ठा र स्वाभिमान उच्च रहेको उल्लेख गर्दै सबै राजनीतिक दलहरूले नेपाल र नेपालीको हितमा काम गर्नुपर्ने बताए। उनले अमेरिका, चीन, भारत, र रुसलगायतका देशका सरकार प्रमुखहरूसँग नेपालको हित र प्रतिष्ठा बढाउन संवाद र छलफल गरेको जानकारी दिए। जनताको विश्वास र समर्थन प्राप्त गरे मात्र पार्टी बलियो हुने भन्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको समस्या बुझ्न र समाधानका लागि उनीहरूको बीचमा जान आग्रह गरे। “जुन दलका नेता तथा कार्यकर्ताहरू जनताको पीडा र वेदना सुन्छन्, ती दलले नै जनताको समर्थन प्राप्त गर्छन्,” उनले भने।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनेशप्रसाद यादव, राप्रपाका नेता सुमेश्वरनाथ उपाध्यायलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए। अधिवेशनको उद्घाटन नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। नेताहरूले अधिवेशनले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।