१. दाँतको हेरचाह कसरी गर्न सकिन्छ ?
विशेष गरेर तराई क्षेत्रमा पान गुट्खा,चुरोट, बिडी बढी खाने हुनाले जनचेतना फैलाउने कार्यक्रमहरु गर्न जरुरी छ । हामीले दैनिक २ पटक बिहान र बेलुका खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ । धेरै तातो खानेकुराहरु खानु हुदैन् ।
२. दाँतमा कस्ता समस्या बढी देखिन्छ ?
पान, गुट्खा खाने मानिसलाई (जिन्जीभाइटिस्) गिजा सुन्निने र गिजा तल सर्ने समस्या बढी देखिन्छ । दाँतमा ४ घण्टा भन्दा बढी खाना अड्किएर बसेमा दाँत किराले खाने समस्या हुन्छ । दाँतमा किरा लागेको समस्या लिएर पनि धेरै मानिसहरु आउँछन् ।
३. दाँत किराले किन खान्छ ?
मुख भनेको सबैभन्दा फोहर भाग हो । मुखभित्र अनगिन्ती किटाणुहरु हुन्छ । कतिपय किटाणु फाइदाजनक हुन्छ । भने कतिपय हानीकारक हुन्छन् । खाना खाएपछि दाँतको बीचको भागमा अड्किएको खानाबाट किटाणुले एक प्रकारको रसायन उत्पादन गर्छ । त्यो रसायनले दाँतको सेतो भागलाई टुक्रयाउँछ । त्यही टुक्रेको भागबाट किटाणुले भित्र पसेर खादै जादाँ किरा लाग्छ ।
४. दाँतमा किरा लागेको कसरी थाहा पाउन सकिन्छ ?
दाँतमा किरा लाग्न सुरु गर्दा कालो–कालो धब्बा देखिन्छ । जिब्रोले छुदाँ हल्का खाल्डो जस्तो महशुस हुन सक्छ । यो अवस्थामा दाँत दुख्दैन । बिस्तारै–बिस्तारै गरे खाल्डो बढ्दै जान्छ । नसामा पुगेपछि मात्र दाँत दुख्छ । दाँतमा इनामेल, डेन्टिन र पल्प गरेर ३ वटा लेयर हुन्छ । इनामेलमा किरा लाग्दा दुख्दैन । केही थाहा हुदैन । इनामेलबाट डेन्टिनमा गएपछि हल्का दाँत सिरिङ्ग–सिरिङ्ग भएको महशुस हुन्छ । चिसो चिज खाएर केही भएका होला भनेर सोचिरहेका हुन्छौं । पल्पमा दाँतको भित्रको नसा भएको भाग हो । यसमा हाम्रो दाँतलाई चाहिने पोषणहरु, रगतको नसा र तातो चिसो थाहा पाउने नसाहरु हुन्छ । दाँतको जरासम्म किराले खाएपछि मानिसको दुखाई सुरु हुन्छ । दाँत दुखेपछि मात्र समस्या लिएर अस्पतालमा मानिसहरु जाने गर्दछन् ।
५.दाँतको उपचार कुन समयमा गर्न उपयुक्त हुन्छ ?
दाँतमा कालो धब्बा देखिनसाथ राम्रोसंग ब्रस गर्नुपर्छ । ब्रस गर्दा पनि कालो धब्बा गएन भने नजिकको दन्त रोग विशेषज्ञकोमा गएर दाँतको जाँच गर्नुपर्छ । हरेक ३ महिनामा दाँतको जाँच गर्नुपर्छ । शरीरको सबैभन्दा कडा भाग इनामेल हो । इनामेलमा किरालाग्दा दुख्दैन । इनामेल भित्रको खैरो भागमा गएपछि सिरिङ्ग–सिरिङ्ग भएको महशुस हुन्छ । त्यो बेला सचेत भएर जाँच गर्न गयो भने खर्च पनि कम लाग्छ । त्यो समयमा दाँतको वास्ता नगरी बसेमा धेरै खादै जान्छ । समयमै डाक्टरकोमा गएर दाँत भर्नु भयो भने धेरै दुखाई हुदैन । लामो उपचार गर्नु पर्दैन । पल्पसम्म किरा लागेमा खपिसक्नु हुदैन् । सुइ लिनु पर्ने, विभिन्न औषधी सेवन गर्नुपर्छ । मंहगो प्रविधिको उपचारहरु गर्नुपर्ने हुन्छ ।
६. दाँतको उपचार कत्तिको मंहगो छ ?
अन्य तेस्रो मुलूकको तुलनामा नेपाल, भारतमा दाँतको उपचार सस्तो नै छ । दाँत कस्मेटिकमा पर्ने भएकोले नेपाल सरकारको बिमा सेवामा दाँतको सय प्रतिशत बिमा समेटिएको छैन । स्पेशल स्वास्थ्य बिमा गराउनु भयो भने केही प्रतिशत दिन्छ । दाँत उखेल्नु छ भने बिमा अन्र्तगत सय प्रतिशत नै आउँछ । सामान्य खालको उपचार गर्नु छ भने बिमाले समेट्न सक्छ । दाँतमा खोल लगाउने, दाँत बाङ्गो टिङ्गो भएको मिलाउने बिमाले यस्ता उपचारलाई समेट्न सक्दैन ।
७.दाँत उखल्दा क्यान्सर हुने सम्भावना कत्तिको हुन्छ ?
दाँत उखालेर क्यान्सर हुदैन । पहिलादेखि नै पान, गुट्खा, बिडी तथा सुर्तीजन्य पदार्थहरु खाइरहेका छन् । राम्रो अस्पतालमा गएर दाँत उखालेको छ भने कुनै समस्या आउदैन । पहिलादेखि नै क्यान्सरको संक्रमण अवस्थामा छ भने क्यान्सर फैलने सम्भावना हुन्छ ।
८. गिजाबाट रगत आउनुको कारण के हो ?
पान,गुट्खा खानाले दाँतको फेदमा फोहर जम्छ । हामीले खाएको खाना दाँतले चपाउने काम गर्छ । खाना चपाउँदा मसिनो कण गिजाको छिद्रमा पस्छ भने त्यसलाई नै डेन्टल फ्लग भनिन्छ । त्यही डेन्टल फ्लगमा किटाणुले रसायन उत्पादन गरेपछि कडा भएर ढुङ्गा जस्तो हुन्छ । जसले गर्दा गिजा सुन्निने हुन्छ । हामीले ब्रस गर्दा गिजाबाट रगत निस्कन्छ । गिजा सुन्नियो, रगत आउन थाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ । पहिलाको तुलनामा गिजा कालो भयो भने पनि जाँच गर्नुपर्छ । कतिपय महिलाको गर्भवती भएको २,३ महिनाको अवस्थामा पनि गिजाबाट रगत आउँछ । हर्मोनलको औषधी, विभिन्न औषधीहरुको सेवनको असरले गर्दा पनि दाँतबाट रगत आउँछ ।
९.मुख गन्हाउने समस्या पेटको खराबीले गर्दा हुन्छ भनिन्छ नी ?
मुखभित्र फोहोर वस्तुहरु भएकोले गर्दा पनि मुख गन्हाउँछ । मुखमा भएको धेरै किटाणुहरु मुख खोलेर सुत्ने बानी हुने मानिसको नाकबाट सास नफेरी मुखबाट फेर्ने भएकोले किटाणुहरु मर्छन । जसले गर्दा मुख गन्हाउँछ । ग्यास्ट्रिक भएको मानिसहरुको पनि मुख गन्हाउन सक्छ ।
१०.बच्चाको दाँत परिवर्तन हुदाँ बाङ्गो टिङ्गो आउनको कारण के हो ?
बच्चाको हल्लिएको दाँत समयमा ननिकाल्दा नयाँ दाँत भित्र वा बाहिरबाट आउँछ । हामीले दाँत हल्लिने बित्तिकै दाँत निकालिदिनु पर्छ । केही बच्चाहरुको समयमा नै दाँत निकाल्दा पनि बाङ्गो टिङ्गो आएको हुन्छ । बच्चाको दाँत कस्तो हुने भन्ने कुरा आमाको गर्भबाट नै निर्धारण भएको हुन्छ । गर्भरहेको २,४ हप्तामा नै दाँत कस्तो आउने तय भएको हुन्छ । पहिला बच्चाहरुको गिजा र दाँत दुबैको साइज सानो हुन्छ । पछि बच्चा बढ्दै गएपछि गिजाको साइज पनि बढ्दै जान्छ । बाङ्गो टिङ्गो दाँत पनि मिल्दै जान्छ ।
११.अन्त्यमा थप केही सुझावहरु के छन् त ?
बच्चा जन्मेको ६ महिनादेखि दाँत आउन सुरु गर्छ । दाँत आएपछि आमाले दुध खुवाइसकेपछि सुत्ने बेलामा कपासले दाँतलाई पुछ्दिनु पर्छ । बच्चा सानो हुन्जेल आमाले नै यसको दाँतको हेरचाह गर्नुपर्छ । बच्चा बुझ्ने भएपछि बच्चालाई बिहान र बेलुका दिनको २ पटक ब्रस लिएर सफा गर्ने लगाउनु पर्छ । ठूलो मानिसहरुले दिनमा केही खाना खाएपछि भने कुल्ला गर्नुपर्छ । बिहान, बेलुका खाना खाएपछि दाँत सफा गर्नुपर्छ । दाँत सफा भएमा दाँतमा कुनै प्रकारको समस्या आउदैन ।