२७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहहरूको भूमिका प्रभावकारी नभएको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन अभाव र सस्तो लागतमा भवन निर्माण गर्ने प्रवृत्तिले भूकम्पीय जोखिम बढाएको बताए। “स्थानीय तहहरूले भवन निर्माण मापदण्डको पालना गराउन ध्यान दिनुपर्ने देखिन्छ,” उनले थपे।
सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सावधानी, र राहत उद्दारमा स्थानीय सरकारहरूको सक्रियता अपर्याप्त हुँदा जनधनको ठूलो क्षति हुने गरेको औंल्याए।
सार्वजनिक कार्यक्रममा उपस्थितहरूले नेपाली समाजमा विपद्को बेला पनि सावधानी नअपनाउने प्रवृत्ति, राहत तथा उद्दार प्रक्रियामा कानूनी झमेलाहरू, भौगोलिक कठिनाइ, र चेतनाको कमी जस्ता समस्याहरूले विपद् व्यवस्थापनलाई अझ चुनौतीपूर्ण बनाएको बताए।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख, सरकारी निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
सरोकारवालाहरूले विपद् व्यवस्थापनमा स्थानीय तहहरूलाई थप सक्रिय र जिम्मेवार बनाउन ठोस योजना र नीतिगत सुधारको आवश्यकता रहेको सुझाव दिए। "स्थानीय तहहरूले विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनु जरूरी छ," सहभागीहरूले जोड दिए।