नेपाल पुलिस क्लबले बिहीबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न जय ट्रफी मेन्स एलिट कप २०८१ को फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै उपाधि जितेको छ। यो तीन दिवसीय प्रतियोगिताको फाइनलमा पुलिसले आर्मीलाई १०३ रनको लक्ष्य दिएको थियो, जसलाई पछ्याउँदै आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भएको हो।
पुलिसका दुई स्पीनर सागर ढकाल र ललित राजवंशीको उत्कृष्ट बलिङले आर्मीलाई अलआउट गर्न महत्वपूर्ण भूमिका निभाएको थियो। सागर ढकालले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिएका थिए भने ललित राजवंशीले १५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिएका थिए।
त्यसअघि, पुलिसले तेस्रो दिन १३२-९ को अवस्थाबाट सुरूवात गर्दै १३९ रनमा अलआउट भएको थियो र आर्मीलाई १०२ रनको अग्रता दियो। पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाए भने दिलिप नाथले ३४ रन बनाए। आर्मीका साहब आलमले ५ तथा बसिर अहमदले ४ विकेट लिए।
पहिलो इनिङमा पुलिसले टस हारेर पहिले ब्याटिङ गर्दै १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो। पुलिसका लागि कुशल भुर्तेलले ५१ रन बनाए भने अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाए। आर्मीका साहब आलमले ७ विकेट लिएका थिए। जवाफमा आर्मीले १७० रन बनाएर अलआउट भएको थियो।
आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन बनाए भने बसिर अहमदले ४० रन बनाए। सोमपाल कामीले ३२ रन बनाउँदा विनोद भण्डारी र इमरान शेखले १४ र १० रन बनाएका थिए।
पुलिसका बलर सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिएका थिए, जबकि कुशल भुर्तेलले ३, ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे।
यस जितसँगै नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि जित्ने आफ्नो ऐतिहासिक यात्रा पूरा गरेको छ।