सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको (साउन–पुस) प्रमुख आर्थिक सूचक सार्वजनिक गरेको छ। आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा निर्यातमा ३१.८ प्रतिशत वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो।
चालु आवको पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। गत वर्ष सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो। त्यस्तै, ८ खर्ब २२ अर्ब ३७ करोडका वस्तु आयात भएको छ, जसमा ७.१ प्रतिशतको वृद्धि भएको छ।
आयात-निर्यात अनुपात चालु आवमा ८.३:१ रहेको छ, जबकि गत वर्ष सोही अवधिमा यो अनुपात १०.२:१ थियो।
राजस्वतर्फ चालु आवमा १२.७ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यो वृद्धि दर ८.२ प्रतिशत मात्र थियो। सरकारले पहिलो ६ महिनामा चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये ३६.५ प्रतिशत (२ खर्ब ६६ अर्ब ८५ करोड) खर्च गरेको छ।
पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोडमध्ये १६.२ प्रतिशत (५६ अर्ब ९४ करोड) खर्च भएको छ। वित्तीय व्यवस्थाका लागि विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये ४३.२ प्रतिशत (१ खर्ब ५८ अर्ब ६६ करोड) खर्च भएको छ।
यस अवधिमा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, र समपूरक तथा विशेष अनुदानतर्फ ४ अर्ब ९४ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड अनुदान हस्तान्तरण भएको छ।
राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण गरिएको छ, जुन वार्षिक विनियोजनको ३२.५ प्रतिशत हो। चालु आवका यी आर्थिक सूचकले सरकारको समग्र आर्थिक गतिविधिमा सुधार देखाएको अर्थ मन्त्रालयले जनाएको छ।