वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पससहित देशभरका त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते हुने भएको छ।
त्रिवि शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको हो। परिषद्का सदस्य सचिव पशुपति अधिकारीले निर्वाचनको मिति तय भएको जानकारी दिएका छन्।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरअनुसार स्ववियु निर्वाचन फागुन १५ मा गर्ने भनिएको थियो। तर, कानुनी जटिलता नआओस् भन्ने उद्देश्यले अघिल्लो कार्यकालमा भएको मितिमा नै निर्वाचन गर्ने निर्णय गरिएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा. केसीले बताए।
उनले भने, “वर्तमान कार्यसमितिको दुई वर्षे कार्यकाल आगामी चैत ५ गते पूरा हुँदैछ। कानुनी अड्चन नआओस् भनेर अघिल्लो निर्वाचन भएको मितिमा नै निर्वाचन गर्न सिफारिस गरिएको हो।”
नियमित हुन नसकेको स्ववियु निर्वाचन
स्ववियु निर्वाचन दुई–दुई वर्षमा हुने प्रावधान रहे पनि २०६५ सालदेखि नियमित हुन सकेको थिएन। विसं २०६५ चैत ६ मा भएको निर्वाचनपछि २०७३ चैत १५ मा मात्र अर्को निर्वाचन सम्पन्न भएको थियो।
२०७९ चैत ५ मा देशभरका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भए पनि ठाकुरराम क्याम्पससहित नौ वटा आंगिक क्याम्पसमा हुन सकेको थिएन। अब भने ती क्याम्पससहित त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ।
उम्मेदवारका लागि उमेर हद र मिश्रित प्रणालीको व्यवस्था
यसपटक स्ववियु निर्वाचनका लागि उम्मेदवारको उमेर हद २८ वर्ष निर्धारण गरिएको छ। साथै, निर्वाचनमा मिश्रित प्रणालीको व्यवस्था लागू गरिने बताइएको छ।
त्रिवि कार्यकारी परिषद्ले यो निर्णयलाई अनुमोदन गरेपछि चैत ५ मा देशभर एकसाथ निर्वाचन हुनेछ।