राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। बुटवलको सुप्रिम सहकारी अपचलनसम्बन्धी मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन्।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगेका थिए। उनी केही वकिल र समर्थकहरूसहित भैरहवा पुगेका थिए। अदालतमा बयान दिनुपर्ने अवस्थामा मंगलबार नै उनले काठमाडौँ विमानस्थलबाट रुपन्देही प्रस्थान गरेका थिए।
सहकारी अपचलनका विवादमा बारम्बार तानिदै
यसअघि लामिछाने कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसपछि उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतमा बयान दिन पुगेका थिए। सो मुद्दामा पनि ६० लाख धरौटी बुझाएर उनी रिहा भएका थिए।
रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सुप्रिम सहकारी प्रकरणमा लामिछानेको संलग्नता रहेको देखिएको छ। ३ वैशाख २०७९ मा अदालतमा दर्ता भएको यो मुद्दामा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना भएको आरोप छ। सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको दाबी छ।
ग्यालेक्सी टीभी र गोर्खा मिडिया नेटवर्कसँगको सम्बन्ध
गोर्खा मिडिया नेटवर्कले २०७७ सालमा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो। प्रारम्भमा गितेन्द्रबाबु राई र छविलाल जोशी यस नेटवर्कका मुख्य शेयरधनी थिए। पछि रवि लामिछाने १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए।
सुप्रिम सहकारीको दुई करोड रुपैयाँ लामिछानेको नाममा ऋणका रूपमा गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यो रकम २०७७ साल चैत १८ मा स्वीकृत भएको थियो, जसको चार लाख सेवा शुल्क कटौती गरी १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको पाइएको छ।