पर्सा जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त तबरेज अहमदले बिहीबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
पदभार ग्रहण गर्दै उनले पर्सामा भूमिसम्बन्धी दीर्घकालीन समाधान र समाजका हरेक वर्गलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे। गएको पुस २९ गते सरकारले ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्षहरूको नियुक्ति गरेपछि अहमदलाई पर्साको जिम्मेवारी दिइएको थियो। जनता समाजवादी पार्टीका युवा नेतासमेत रहेका अहमद यसअघि पनि २०७८ सालमा पर्सा आयोगको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए।
पदभार ग्रहण समारोहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहमदलाई सफल कार्यकालको शुभकामना दिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, र पत्रकारहरूको उपस्थिति रहेको थियो। अध्यक्ष अहमदले आफ्नो अघिल्लो कार्यकालमा भूमिहीन, विपन्न, दलित, र अल्पसंख्यक समुदायका लागि थुप्रै महत्त्वपूर्ण कार्य गरेको स्मरण गर्दै अबका तीन वर्षमा पर्साको भूमिसम्बन्धी समस्या स्थायीरूपमा समाधान गर्ने योजना सुनाए। उनले यसअघिका आयोगहरूले गरेका कार्यसमेत समेट्ने गरी स्मारिका प्रकाशन गर्ने घोषणा पनि गरे।
पदभार ग्रहण समारोहमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, जसपाका नेता प्रेमबाबु पटेल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, र नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। अहमदले यसपटकको कार्यकाललाई भूमिसम्बन्धी समस्याको अन्त्यको प्रमुख अवसरका रूपमा उपयोग गर्ने बताएका छन्। स्थानीयस्तरमा आयोगले भूमिहीनहरूको हकअधिकार र न्याय सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।