बाराको कलैया उपमहानगरपालिकामा नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भव्यतासाथ सम्पन्न भएको छ। कार्यक्रमको आयोजना टेवा धापाखेल ललितपुरको समन्वय र ग्रामीण उत्थान अभियान कलैया द्वारा गरिएको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नगरप्रमुख बिनोद साहले यहाँका प्रमुख समस्या र प्रगतिको बारेमा जानकारी दिए। उनले खासगरी मानमत-मटिअर्वा सडकको काम अधुरो रहेकोमा दुःख व्यक्त गरे र यो कार्य छिटो सम्पन्न गर्न प्रशासनले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए।
नगरप्रमुख साहले महिला, बालबालिका, र ज्येष्ठ नागरिकका लागि विशेष योजनाहरू ल्याउने योजना बनाइएको जानकारी दिएका छन्। साथै, उनले नगरमा डिजे र अश्लिल गीत बजाउनलाई प्रतिबन्ध लगाएको भएपनि यसको कार्यान्वयन नहुनुलाई दुःखद् भनेका छन् र यसलाई कडा नियमको रूपमा लागू गर्न पहल गर्ने बताएका छन्।
कार्यक्रममा, कलैया अस्पताल भित्रको बेथितीलाई यथाशिघ्र सुधार्नका लागि ध्यानाकर्षण गराइयो। कृषि सम्बन्धी समस्याहरूको समाधानका लागि पनि मल, खाद, र बीउ वितरणको काम भइरहेको बताइएको छ।
दुई प्रमुख जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक बलराम श्रेष्ठ र ग्रामीण उत्थान अभियानका अध्यक्ष माधुरी कुमारी गिरीले सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि अहोरात्र काम गर्दै आएको बताएका छन्।
कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका मेसु डा. अजय गुप्ता, टेवाका महिलाबादी आन्दोलनकी अगुवा सरस्वती श्रेष्ठ, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी र समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण विश्वस एफएमका प्रबन्ध निर्देशक साजिर मन्सूरले गरेका थिए।